तनहुँ,
नेपालको मध्यभागमा पर्ने तनहुँ, चितवन र नवलपुर गरी तीनवटा जिल्लामा फैलिएको समग्र देवघाटधामको धार्मिक एवम् पर्यटकीय क्षेत्रको समृद्धिका निम्ति सञ्चालित परिक्रमा महोत्सवमा यस क्षेत्रका सयौँ धार्मिक संघ-संस्थाको प्रत्यक्ष सहभागिता रहेको थियो। नेपाल सन्त समाजको आह्वानमा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको व्यवस्थापन र समन्वयमा सञ्चालन भएको महोत्सवले देवघाटमा नयाँ सम्भाव्यताको ढोका खोलेको पुष्टि भएको छ ।
विगतमाका वर्षमा भन्दा बृहद् रुपमा सञ्चालन गरिएको परिक्रमा गलेश्वर आश्रम देवघाटका पीठाधीश श्री १००८ स्वामी आत्मानन्द गिरि,नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती र महेश संन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी रमणानन्द गिरि, चैतन्य कृष्ण आदिको विशेष उपस्थिति तथा प्रेरणा र अन्य सन्तहरूको सहभागितामा व्यवस्थित रूपले सञ्चालन भएको हो । तनहुँ, चितवन र नवलपुरमा पर्ने देवघाट क्षेत्रको २५ कि.मि. धार्मिक मार्गमा पैदल यात्रामार्फत गरिएको परिक्रमामा हजारौँ तीर्थयात्रीहरूको उल्लासमय उपस्थिति रहेको थियो ।
मङ्सिर ९गते शनिबारका दिन प्रात ७ बजे पवित्र कालीगण्डकी र त्रिशूली नदीको सङ्गममा शालग्राम शिला र गण्डकीको पूजा सङ्कल्प गरी देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले देवघाट गण्डकी परिक्रमाद्वारा देवघाट क्षेत्रको धार्मिक , सांस्कृतिक , पर्यटकीय तथा आर्थिक समग्र विकासमा टेवा पुग्ने कुरा गाउँपालिका अध्यक्ष थापाले बताए थिए । साथै देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालको स्वागत मन्तव्य तथा गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिको आशीर्वचन र बिगतका वर्षहरुदेखि नै परिक्रमा यात्राको संयोजन गर्दै आएका महेश संस्कृत गुरुकुलका प्राचार्य उपप्रा.फणीन्द्रप्रसाद पौडेलले परिक्रमाको महत्व,मार्ग र अनुशासन घोषणासहित शुभारम्भ भएको परिक्रमा दिउँसो ४ बजेसम्म चलेको थियो ।
परिक्रमामा तनहुँ देवघाट, चितवन देवघाट र नवलपुर गैँडाकोट क्षेत्रका श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको थियो । धार्मिक झाँकी,भजन-कीर्तन र पूजा-आजाले सहित परिक्रमा निकै व्यवस्थित रूपमा सञ्चालित भयो । विशेष गरी देवघाट क्षेत्रका गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश संन्यास आश्रम (विद्येश्वर मन्दिर), हरिहर आश्रम (हरिहर मन्दिर) ,श्रीराम मन्दिर,लक्ष्मीनारायण मन्दिर,गणेश मन्दिर,देवघा सार्वजनिक पुस्तकालय,देवघाट सिकाइ केन्द्र लगायत अन्य मठमन्दिरका पीठाधीश एवम् आचार्य र बटुकहरू तथा कल्पवासिहरूको परिक्रमामा मुख्य उपस्थिति रहेको थियो ।
यसै गरी चितवनतर्फ सीताराम संस्कृत मा.वि., रामजानकीबालिका आश्रम, रामजानकी गार्गी कन्या गुरुकुल, लक्ष्मीनारायण मन्दिर, यज्ञशाला मन्दिर, राम मन्दिर, राधादामोदर मन्दिरलगायत विभिन्न संघसंस्थाका प्रमुख एवम् विद्यार्थीहरूको प्रतिनिधिमूलक उपस्थिति रहेको थियो । देशका विभिन्न भूभाग काठमाडौं, पोखरा , विराटनगरबाट समेत उलेख्य धर्मानुयायीहरूको उपस्थिति रहेको थियो ।भरतपुर आँपटारी क्षेत्रबाट स्कोन चितवन, ॐ शान्ति नारायणगढ, वागीश्वरी आध्यात्मिक परिषद् लगायतका संघ-संस्थाले स्वागतसहित सहभागिता जनाएका थिए । आ-आफ्ना क्षेत्रमा पूर्ण कलश र फूलप्रसाद र पिउने पानीको व्यवस्थासहित नगरवासीद्वारा यात्रीहरूलाई स्वागत गरिएको थियो ।
पोखरा बसपार्क क्षेत्रमा गौरेश्वर मन्दिर परिवार र टोलका तर्फबाट फल र पानीको सेवासहित स्वागत गरिएको थियो भने हरिहर मन्दिर नारायणगढमा मन्दिर व्यवस्थापनका पदाधिकारी समाजसेवी लगायतका विशिष्ट महानुभावहरूले यात्रीहरूलाई औपचारिक स्वागत सत्कारसहित मन्दिरका तर्फबाट फलप्रसादको व्यवस्था गरिएको थियो । देवघाट र गण्डकीको महिमागान गर्दै अघि बढेको परिक्रमालाई धार्मिक सेवा समिति मौलाकालिकाको टोलीले स्वागत गरेको थियो । गैँडाकोट क्षेत्रबाट परिक्रमा महोत्सवको सहसंयोजन गरेको मौलाकालिका मन्दिर व्यवस्थापन समितिको आह्वानमा त्यस क्षेत्रका अधिकांश धार्मिक संघसंस्था, मठमन्दिर र आमासमूहहरूले तीर्थयात्रीहरूको भव्य स्वागत सत्कार गरेका थिए ।
मौलाकालिका भगवतीको दर्शन गर्दै अघि बढेका यात्रीलाई श्रीलक्ष्मीनृसिंह दिव्यधाम परिसरमा भोजन प्रसादको व्यवस्थित प्रबन्ध मिलाइएको थियो । गाजाबाजा र भजनकीर्तनसहित गैँडाकोटवासीले प्रस्तुत गरेको स्वागत सत्कार र उपस्थितिले यात्रा ज्यादै आकर्षक देखिन्थ्यो । ९० भन्दा बढी संस्थाहरूको व्यानर , पोसाक र झाँकी सहित उल्लासमय उपस्थितिमा ४ हजार भन्दा बढी सहभागी भएका थिए । मौलाकालिका सामुदायिक वनको उत्तरी भागमा अवस्थित वनक्षेत्रको मार्ग हुँदै पुनः तनहुँ पुगेको परिक्रमालाई देवघाट गाउँपालिका वडा नं. ५ को देवपुर क्षेत्रमा देवघाट जेसिजका तर्फबाट जलपानसहित भव्य स्वागत गरिएको थिए । पूर्ण यात्राभर सहभागी करिब १५ सय बढी यात्रीहरूले ऐतिहासिक मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा पुगेर पूर्णाहुतिसहित परिक्रमाको समापन गरेका थिए ।
समापन कार्यक्रममा परिक्रमा यात्रा सञ्चालन समितिका संयोजक महेश संस्कृत गुरुकुलका प्राचार्य उपप्रा.फणीन्द्रप्रसाद पौडेलले विभिन्न संघसंस्थाका करिब चार हजार भन्दा बढी सहभागीहरूको यात्रामा व्यवस्थित उपस्थिति रहेको जानकारी गराउँदै सबैलाई धन्यवाद व्यक्त गरे। देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङ्गले गण्डकी परिक्रमाले अध्यन अबलोकन संगै देवघाट गाउँपालिकाको पर्यटकीय बिकासलाई पनि छिमेकी जिल्लाहरु संग समन्वय गरि अगाडी बढाउने बताए। यात्रामा देवघाट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य,देवघाट क्षेत्र बिकास समितीका अध्यक्ष भिम बहादुर राना,देवघाट गाउँपालिका प्रबक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवर,५ वडा सदस्य कमला गुरुङ,बुद्धि बहादुर पाण्डे,सरस्वती परियार,याम बहादुर मगर, देवघाट ईलाका प्रहरी ईन्चार्ज कृष्ण बानियाँ, एवम् थुप्रै सङ्घसंस्थाको उपस्थिति रहेको थियो



