मंसिर १४-
मधेस प्रदेश पोखरामा चलिरहेको केपी ओली टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मधेसले सशस्त्र प्रहरीलाई ११ रनले हराउँदै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा बागमतीलाई हराउँदै आर्मी यसअघि नै फाइनलमा पुगेको थियो ।
दोस्रो सेमिफाइनलमा मधेसविरुद्ध १९८ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनायो ।
मधेशका विशाल पटेलले ३ तथा हरिशंकर साह र प्रदीप पासवानले समान २ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको मधेशले २० ओभरमा ६ विकेट गुमाउँदै १९७ रन बनाएको थियो । मधेशका लागि अनिल साहले ५७ तथा इमरान शेखले ५० रन बनाए ।



