चितवन
आदिवासी जनजाति समुदायभित्रको मगर जातिमा लाहुरे प्रथा परम्परागत संस्कार हो, जुन अहिले पनि कायम छ। र, समाजमा पनि लाहुरेहरूको मान, सम्मान र प्रतिष्ठा विशिष्ट छ। अधिकाश पुरूषहरू उमेर पुगेपछि लाहुरे बन्ने कसरतमा लागिरहेका छन्। जसले गर्दा बीचैमा पढाइ छाड्नुपर्ने बाध्यता पनि यथावत छ। तर, समाजमा शिक्षाको महत्त्व कति आवश्यक छ भन्ने विषयलाई उजागर गर्न शनिबार नेपाल मगर संघ चितवनले आयोजना गरेको खुला वक्तृत्वकला कार्यक्रममा प्रतियोगीहरूले यिनै विषयलाई केन्द्रित बनाएर आफ्ना कला देखाए।

समाजमा शिक्षाबाट गराउन सकिने परिवर्तन अन्य क्षेत्र र पेसाबाट सम्भव नभएको सहभागीहरूको ठम्याइ थियो। संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरको उपस्थितिमा भएको प्रतियोगितामा २६ जना सहभागी भए। त्यसमध्ये भरतपुर–२, क्षेत्रपुरस्थित चन्द्र एकता मगर समाजकी स्नेहा थापामगरले पहिलो स्थान हासिल गरिन्। उनले नगद सात हजार रूपैयाँ पुरस्कार प्राप्त गरिन्। त्यस्तै भरतपुर–२० की यमकुमारी थापामगर दोस्रो स्थान हासिल गर्दै नगद पाँच हजार रूपैयाँ पुरस्कार जितिन्। भरतपुर–९ (क) रीता थापामगरले तेस्रो स्थान हासिल गर्दै नगद तीन हजार रूपैयाँ राशिको पुरस्कार जितेकी छन्।

मगर समाजको रूपान्तरणको लागि खुला वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले जानकारी दिए। संघले मगर समुदायको हकहितको क्षेत्रमा मात्र नभई समग्र समाज परिवर्तनको लागि लागि रचनात्मक कार्यक्रम आयोजना गर्दै आएको उनको भनाइ छ। कार्यक्रमका प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले मगर समुदायलाई शैक्षिक क्षेत्रमार्फत अगाडि बढाउनका लागि समाजभित्र व्याप्त नकारात्मक विषयलाई त्यागेर सकारात्मक पक्षलाई मात्रै अँगाल्नुपर्ने बताए। लोप हुन लागेको भाषा, पोषाक, रीतिरिवाजलगायतलाई संरक्षण गर्नु आवश्यक रहेको उनको भनाइ छ।

भरतपुर महानगरपालिका वडा नं.१ का अध्यक्ष केशव महर्जन, नेपाल मगर संघ केन्द्रीय अनुशासन विभाग सदस्य काशीमाया रानामगर, नेपाल मगर संघ केन्द्रीय सांस्कृतिक उपाध्यक्ष देवी थापामगर, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनमगर, नेपाल मगर संघ बागमती प्रदेश अध्यक्ष मिलन थापामगर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश रानामगरलगायतको उपस्थिति थियो। कार्यक्रममा नेपाल मगर संघ चितवन अन्तर्गतका विभिन्न प्रारम्भिक इकाइ तथा भातृ संघसंस्थाहरूको पनि उल्लेख्य उपस्थिति थियो।



