भरतपुर
नवलपुर जिल्लाको गैँडाकोटस्थित थुम्सीमा रहेको पाते ढिँडोले चितवनको भरतपुरबाट पनि सेवा दिन थालेको छ।
थुम्सीमा सेवा सुरु गरेको २५ वर्ष पुगेको अवसरमा चितवनको भरतपुरबाट पहिलो शाखा सञ्चालन गरी सेवा दिन थालिएको हो। भरतपुर(१० स्थित शिखर चोकमा खुलेको पहिलो शाखाको आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनालले उद्घाटन गरे। पाते ढिंडो एण्ड बिच रिसोर्ट प्रालिअन्तर्गत सञ्चालित उक्त होटल आइतबार भरतपुर महानगरपालिका वडा नं.१० का अध्यक्ष परमेश्वर खनालले उद्घाटन गरेका हुन्। गुरूङ भाषामा ‘पाते’को अर्थ ‘माइली छोरी’ भन्ने हुन्छ।
त्यसैले होटलको भित्तामा बनाइएको पातेको चित्रलाई पर्दा उघारेरै होटलको औपचारिक उद्घाटन गरिएका थियो। करिब दुई करोडको लगानीमा भरतपुर–१० स्थित शिखर चोकमा सञ्चालनमा आएको उक्त होटलबाट थुम्सीकै सुविधा दिलाउने होटलका संस्थापक वृखलाल गुरूङले जानकारी दिए। पाते ढिँडोको सञ्चालनबाट कोदो, फापर, मकै, गहुँलगायतका रैथाने खाद्यबालीको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ। पातेको पहिलो शाखाबाट मात्रै ३५ जना युवालाई रोजगार दिलाउन सकिने गरी सञ्चालनमा ल्याएको संस्थापक गुरूङको भनाइ छ। ढिँडोसँगै अन्य खाजाका परिकार तथा ‘फास्ट फुड’को समेत सेवा दिइने उनले बताए।
भरतपुर–१० का वडा अध्यक्ष खनालले पछिल्लो समय नेपाली युवा जनशक्ति विदेश जाने लहडमा लागिरहँदा केही थान युवालाई स्वदेशमै रोक्न सक्ने होटल व्यवसाय सञ्चालन गर्दा त्यसले समग्र देशलाई नै फाइदा पुग्ने बताए। ‘चाहेर पनि हामी (सरकार)ले सामाजिक सुरक्षा दिन नसकिरहेको समयमा विदेश मोह त्यागेर आफ्नै देशमा व्यवसाय सञ्चालन गर्नु चानचुने कुरा होइन,’ उनले भने। थुम्सीलाई पाते ढिँडोले नै परिचित गराएको बताउँदै आगामी दिनमा भरतपुरको सान भएर पाते ढिँडोले थप पहिचान फराकिलो बनाउनेमा विश्वास दिलाए। ‘बरू गुणस्तरमा कुनै कमि हुन नदिनु होला,’ सुझाव दिँदै वडाअध्यक्ष खनालले भने, ‘पछिल्लो समय अनुगमनका क्रममा सरसफाइ तथा गुणस्तरमा कमजोर पाएको हुँदा सरसफाइ र गुणस्तरतर्फ ध्यान दिन आग्रह गर्दछु।’



