मंसिर १८-
चितवन राष्ट्रिय निकुञ्जले बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ्को काम सम्पन्न गरेको छ । माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न राखिएका क्यामेरा झिकेर अध्ययनको काम थालिएको हो । माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मोनिटरिङ’ गर्नका लागि क्यामेरा ट्यापिङ् गरिएको थियो ।
असोज २५ गतेदेखि राखिएका क्यामेरा एक साताअघि निकालिएको हो । निकुञ्जको आयोजना र तराई भूपरिधि कार्यक्रम ९ताल०को सहयोगमा क्यामेरा ट्यापिङ्को काम गरिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मङ्सिर ५ गतेबाट वनमा राखिएका क्यामेरा निकाल्न थालिएको हो । उहाँका अनुसार क्यामेरा ट्यापिङ्को विधिबाट बाघको अवस्थाबारे जानकारी लिइएको छ ।
तिवारीका अनुसार क्यामेरा निकालेर अहिले अध्ययनको काम भइरहेको छ । अध्ययनका लागि प्राविधिक टोली खटिएको भन्दै उहाँले अहिले फोटो सङ्कलन तथा फोटोहरुको अवस्थाका बारेमा अध्ययन भइरहेको जानकारी दिनुभयो । फोटोमा देखिएका बाघको पाटाको आधारमा अवस्थाबारे अध्ययन गरिने छ”, उहाँले भन्नुभयो, “अबको एक महिनाभित्र सो क्षेत्रमा रहेका बाघको अवस्थाका बारेमा प्रतिवेदन तयार गर्नेछौँ ।”
टाइगर इकोलोजिकल मोनिटरिङ् अफ सोमेश्वर हिल कार्यक्रमअन्तर्गत बाघको बासस्थान र अवस्थाको अध्ययन गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार सन् २०१८ मा सो क्षेत्रमा तीन वटा बाघ रहेकामा सन् २०२२ मा यो सङख्या बढेर आठ पुगेको छ । सोमेश्वर पर्वत माला र भारतको बाल्मिकी टाइगर रिजर्भ क्षेत्र पर्ने भएकाले यहाँ बाघको बासस्थान, आहारा र अवस्था कस्तो रहन्छ भन्ने विषयमा अध्ययनका लागि क्यामेरा ट्यापिङ् गरिएको उहाँको भनाइ थियो । यसले बाघ संरक्षणसम्बन्धी योजना निर्माणका लागि सहयोग पुग्ने छ । रासस



