भरतपुर , मङ्सिर १८
चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आइतबार वडा नं २ को छापडाँडा र दुम्किन हेप्चेक खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गर्नुभयो । यहाँ अधिकांश चेपाङ समुदायको बसोबास छ । अध्यक्ष गुरुङले अब चेपाङ बस्तीमा ‘एक घर एक धारा’ निर्माण हुने बताउनुभयो । उहाँले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
रू एक करोड ७९ लाख ७३ हजार कूल लागतको आयोजना माघ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । साझेदारी संस्थाको ६५, गाउँपालिकाको २५ र स्थानीयवासीको १० प्रतिशत श्रमदानबाट आयोजनाको काम सम्पन्न हुने उहाँको भनाइ थियो ।
वाईन टु वाटरकी राष्ट्रिय निर्देशक रोशनी कार्कीले आयोजनाको पहिलो चरणमा अनुगमन गरिएको बताउँदै त्रिपक्षीय साझेदारीमा गरिएको काम समयमै सम्पन्न हुने भएकाले निर्माणपछि स्थानीयवासीले घरमै शुद्ध खानेपानी पाउने जानकारी दिनुभयो ।वडाध्यक्ष पञ्चबहादुर प्रजाले गाउँमा श्रमदान गर्ने संस्कृति क्रमशः हराउँदै गएको भन्दै यो आयोजना निर्माणपछि श्रमदान गर्ने बानीकोसमेत विकास हुने बताउनुभयो । उहाँले यो आयोजना सम्पन्न भएपछि अन्य काममा पनि स्थानीयवासीलाई श्रमदान गर्न प्रेरित गरिने बताउनुभयो ।
घरमै खानेपानीको धारा आउने भएपछि स्थानीयवासी खुसी भएका छन् । खानेपानी आयोजना समयमै सम्पन्न गर्नका लागि आफूहरु निरन्तर श्रमदान गर्न तयार रहेको स्थानीय आइतबहादुर चेपाङले बताउनुभयो । उहाँले श्रमदान गर्न नसक्ने घरपरिवारको पनि समुदाय मिलेर श्रमदान गरिदिने बताउनुभयो । रासस



