चितवन,मङ्सिर १८
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अब नियमित खेल गतिविधि हुने बताउनु भएको छ । वागमती प्रदेश स्तरीय महिला क्रिकेट छनोट प्रतियोगिताको समापन गर्दै प्रमुख दाहालले रंगशालाको अभ्यास खेल मैदानमा नियमित खेल हुने बताउनुभयो । नियमित खेल गर्न संघ, प्रदेश र भरतपुर महानगरपालिकाबीच केही दिनमा सम्झौता हुने समेत स्पष्ट पार्नुभयो । रंगशालामा खेल गतिविधि नियमित गर्न एक चरणको छलफल र सहमति भईसकेको छ । क्रिकेट रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि ७० प्रतिशत वागमती प्रदेश र ३० प्रतिशत भरतपुर महानगर गर्ने सहमति भएको छ । पहिलो चरणमा रु ७५ करोडको काम हुने जनाइएको छ ।
यसैबीच प्रधानमन्त्री कपका लागि भएको वागमती प्रदेश महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधि काठमाण्डौँले हात पारेको छ । सोमबार भएको लालितपुर र काठमाण्डौँबीचको फाईनल खेलमा लालतिपुरलाई ४ विकेटले पराजित गर्दै काठमाडौँ क्रिकेट संघले उपाधि हात पारेको हो । सुरुवाती ब्याटिङ गरेको ललितपुरले ९ विकेटको क्षतिमा ५४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको काठमाण्डौँले १६ दशमल १ ओभरमा ६ विकेटमा लक्ष्य पुरा गरेको थियो ।



