एमालेको सङ्कल्प यात्राःआठौँ दिन कास्की पुग्ने

images
  • 283
    SHARES
  • मंसिर १९, २०८० मंगलबार
    एमालेको सङ्कल्प यात्राःआठौँ दिन कास्की पुग्ने
    images

    काठमाडौं

    गण्डकी– नेकपा (एमाले)को मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ  समृद्धिका लागि सङ्कल्प यात्रा’को टोली बिहीवार कास्की आइपुग्ने भएको छ । यही मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट शुरू भएको उक्त सङ्कल्प यात्रा अन्तर्गत कास्कीमा दुई दिनसम्म विविध कार्यक्रम तय गरिएको मङ्गलबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो । 

    एमाले जिल्ला किमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई बिहीवार दिउँसो कास्की र पर्वतको सीमास्थल नयाँपुलमा स्वागत गरिने भएको छ । सोही दिन कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत, पोखरा महानगरपालिकाको हेम्जामा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

    शुक्रवार बिहान पोखराको अमरसिँहचोक, तालचोक र रुपा गाउँपालिकाको तालबेँसीमा स्वागत कार्यक्रम हुने उनले बताए । सोही दिन उक्त टोली रुपा गाउँपालिकाको पिपले बजारहुँदै लमजुङ प्रस्थान गर्ने जनाइएको छ ।

    ‘हेम्जा र तालचोकमा भेटघाटसहित पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ,’ गुरुङले भने, ‘स्थानीयवासीसँग विकास निर्माण र जनजीविकाका विषयमा अध्यक्षले अन्तरक्रिया गर्नुहुनेछ ।’

    सङ्कल्प यात्रामा सहभागी टोलीलाई एमाले स्थायी कमिटी सदस्य एवं कास्की जल्ला इञ्चार्ज थममाया थापासहित नेता, कार्यकर्ताले कास्कीमा स्वागत गर्ने एमालेले जनाएको छ।

    एमाले स्थायी कमिटी सदस्य थापाले गणतन्त्र, नेपालको संविधान र राजनीतिक उपलब्धिको रक्षार्थ समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सङ्कल्प यात्रा शुरू गरिएको बताए। सङ्कल्प यात्राका क्रममा नागरिकका अनुभूति, सुझाव र गुनासा सङ्कलन गरिएको उनले बताए ।

       

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend