भक्तपुर,मंसिर २०
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्वसभामुख अग्नि सापकोटाले एनसेल बिक्री प्रकरणमा सरकारको कुनै कमजोरी नभएको बताउनुभएको छ ।
भूकम्पपीडितलाई राहत वितरण र उद्धारमा प्रधानमन्त्री एक्लैले धेरै प्रयास गरेको उल्लेख गर्दै उहाँले सम्बन्धित निकायले सहयोग नगर्दा राहत नपाएर मृत्यु भएका दुःखद घटना सुन्न परेको बताउनुभयो ।
नेपाली सेनालाई राहत वितरणको जिम्मेवारी दिने सरकारको निर्णय राम्रो भएको जनाउँदै उहाँले सरकारले जनताको गुनासो र आलोचनालाई भने सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले सत्ता गबन्धनमा कुनै समस्या नभएको र पाँच वर्ष नै यो गठबन्धन रहने जिकिर गर्दै गठबन्धनले जनताको धैर्यता र निराशालाई टुट्न दिन नहुने बताउनुभयो ।
सरकारले ललिता निवास प्रकरण, सुन तस्करी काण्ड, शरणार्थी प्रकरण जस्ता काण्डमा धेरै राम्रो काम गरेको उल्लेख गर्दै उहाँले प्रधानमन्त्रीको विदेश भ्रमणले सबै देशसँग कूटनीतिक सम्बन्धमा सन्तुलन कायम भएको बताउनुभयो ।
पार्टीहरुमा आन्तरिक लोकतन्त्र कमजोर हुँदा देशको लोकतन्त्र पनि कमजोर हुन पुगेको भन्दै उहाँले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको चाहना पूरा गर्न सबै पार्टीले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
जनताको आवाज बुलन्द गर्नुपर्ने संसद् अहिले अलमलिएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “संसद् जीवन्त र जनमुखी बन्न सकेन, संसद्भन्दा माथि कोही हँुदैन, लोकतन्त्र र जनताको आवाज घन्किनुपर्ने संसद्मा अलमलिएको छ, विधेयकहरु पास हुन सकेका छैनन्, संसद्मा लोकतन्त्रको अभ्यास हुन जरुरी छ ।” रासस



