गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा

images
  • 133
    SHARES
  • मंसिर २४, २०८० आइतबार
    गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा
    images

    २४ मंसिर, सिन्धुपाल्चोक

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी-१४ डढुवामा उत्पादित गोलभेँडा बिक्री नभएपछि किसान समस्यामा परेका छन् । दैनिक चार सयदेखि पाँच सय क्रेट गोलभेँडा उत्पादन हुने गरेकामा मुस्किलले दुई सय क्रेट बिक्री भएपछि बारीमै कुहिन थालेका छन् ।

    गत आर्थिक वर्ष करिब ११ लाख किलो गोलभेँडा उत्पादन गरेर बिक्री गरेका किसानले यस वर्ष बजार नपाउँदा घाटा व्यहोर्नुका साथै बारीमै कुहिन थालेका वडाअध्यक्ष उद्धव नेपालले जानकारी दिए ।

    उनका अनुसार तरकारी र दूधबाट आत्मनिर्भर हुँदा हौसिएका किसान गेलभेँडाले बजार नपाउँदा भने निकै निरास भएका छन् । गत वर्ष तीन लाख सत्तरी हजारको गोलभेँडा बिक्री गरेको जनाउँदै किसान रेशमबहादुर आलेमगरले यस वर्ष रू एक लाखको पनि बिक्री नभएको बताए ।
    ‘बीउ, गोडमेल, औषधिलगायतमा करिब रू तीन लाख जति खर्च भएको छ’, उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष बढी खर्च भएको हो । करिब रू छ लाख बराबरको उत्पादन भए पनि लगानी उठाउन समस्या छ ।’

    इन्द्रबहादुर पुरीले गतवर्ष तीन सय क्रेट बेच्दा रू दुई लाख १० हजार नाफा भएकामा यस वर्ष पाँच सय क्रेट बेच्दा नाफा हुन नसकेको गुनासो गरे । उत्पादन बढी भए पनि बजार मूल्य कम हुँदा लगानी उठाउन समस्या भएको उनको भनाइ थियो ।

    गतवर्ष रू दुई लाख २३ हजारको गोलभेँडा बेच्नुभएका खिनकुमारी बस्नेतले यस  वर्ष झण्डै रू एक लाख घाटा व्योहर्नुपरेको सुए । वैदेशिक रोजगारीबाट फर्किएर  गोलभेँडा खेतीमा लागेका राजेन्द्र बस्नेतले यसवर्ष ज्याला पनि नउठ्ने जानकारी दिए ।

    नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर नेपालले तत्काल नगरपालिकासँग समन्वय गरेर  गोलभेँडाको सश, अचार, काउली तथा सागको गुन्द्रुक बनाउन लागेको जानकारी दिए । उनले यसका लागि घरेलु तथा साना उद्योग कार्यालयबाट तालिमको व्यवस्था गर्न लागिएको बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend