परीक्षामा फेल गराइएको भन्दै विद्यार्थीहरु आन्दोलित

images
  • 250
    SHARES
  • मंसिर २७, २०८० बुधबार
    परीक्षामा फेल गराइएको भन्दै विद्यार्थीहरु आन्दोलित
    images

    चितवन, मंसिर २७

    नियोजित रुपमा बारम्बार फेल गराइएको भन्दै कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका विद्यार्थीहरुले आन्दोलन थालेका छन् । विद्यार्थीहरुलाई बारम्बार नियोजित रुपमा नै फेल गराउँदै आएको भन्दै विद्यार्थीहरुले आन्दोलन थालेका हुन् ।

    आफूले निर्धक्क साथ परीक्षा दिएको विषयमा बारम्बार, सुनियोजित र मनपरी ढंगले, फेल गराइएको भन्दै आन्दोलन गर्नुपरेको विद्यार्थीहरुले बताएका छन् । उनीहरुले परीक्षा बोर्ड र विश्वविद्यालय समक्ष आफ्नो उत्तर पुस्तिकाको प्रतिलिपि हेर्न पाउनुपर्ने माग अघि सारेका छन् ।
    विद्यार्थीहरुले संघर्ष समिति नै गठन गरेर रिले अनसन गर्नुका साथै विरोध प्रदर्शन समेत थालेका हुन् । कृषि संकायमा २०७५/७६ देखि २०७९/८० ब्याचको पाँचौँ सत्रान्तको मौका परीक्षाको परीक्षाफल सार्वजनिक भएको थियो । त्यसमा पुनः अधिकांश विद्यार्थी फेल भएका छन् । यसरी पटक पटक परीक्षा दिँदा पनि विद्यार्थी फेल हुनुमा चरम लापरवाही देखिएको उनीहरुको भनाई छ ।

    मंसिर २२ गते पीडित विद्यार्थी, विभिन्न संघ संगठनले सोही परीक्षाफल सम्बन्धी विभिन्न माग राख्दै ध्यानाकर्षण गराएका थिए । ती समस्याको समाधानका कुनै पनि कदम चाल्ने आश्वासन जिम्मेवार पदाधिकारीबाट नआएको भन्दै तीन विद्यार्थी संगठनले संयुक्त रुपमा आन्दोलन थालेका हुन् ।

    अनेरास्ववियु, अनेरास्ववियू (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन् । विद्यार्थीको सोही उत्तर पुस्तिका अनिवार्य रुपमा पुनः परीक्षण हुनुपर्ने, विद्यार्थीले आफ्नो उत्तर पुस्तिका हेर्ने पाउनुपर्ने र सम्बन्धन प्राप्त क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुको रोकिएको परीक्षाफल तत्काल सार्वजनिक गरिनुपर्ने उनीहरुको माग छ । ती मागहरु सम्बोधन नभएको भन्दै आन्दोलन थालिएको अनेरास्ववियुका अध्यक्ष एकराज पराजुलीले बताए

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend