देवघाट मंसिर २७
भरतपुर १ चितवन देवघाटधाममा रहेको श्रीसीताराम संस्कृत माध्यमिक विद्यालय वि.स.२०३५ सालमा डिल्लीराम बाबा ब्रह्माचारीद्वारा स्थापना गरिएको एक संस्कृत विद्यालय हो ।
सो विद्यालय अहिले चितवन जिल्लाको एक मात्र संस्कृत विषयमा पठनपाठन हुने सामुदायिक विद्यालयमा पर्दछ । जहाँ अहिले कक्षा ६ देखि १२ कक्षासम्म संस्कृत विषयमा पढाइ हुने गर्दछ । विद्यालयले स्थापना कालदेखि नै आवासीय छात्रावास समेत सञ्चालन गर्दै टाढाटाढाका विद्यार्थीहरूलाई सेवा समेत दिईदै आएको छ । विद्यालयको संस्कृत शिक्षा तथा समग्र पक्षको स्तरोन्नति गर्नका लागि अहिले अक्षयकोष स्थापनार्थ गर्न महायज्ञ सञ्चालन गर्न लागेको विद्यालयका प्रधानाध्यापक पोदराज पौडेल बताउनु भयो ।
उक्त महायज्ञ यहि पौष २७ गतेदेखि माघ २ गतेसम्म विश्वविख्यात कथावाचक श्रद्धेय श्री ईश्वरकृष्ण महाराजको प्रमुख वाचकत्वमा "श्रीमद्भागवत अखण्डपाठपारायण, कथावाचन एवं पितृउद्धारात्मक महायज्ञ" का साथै विविध कार्यक्रम गरेर सञ्चालन गर्ने तयारी भैरहेको पौडेलले जानकारी दिनुभयो । महायज्ञका मुख्य कार्यक्रमहरू मिति २०८० पौष २७ गते कलश यात्रा,समुद्घाटन,श्रीमद्भागवत अखण्डपाठपारायण आरम्भ हुनेछ, पौष २८ गते पाठपारायण कथाप्रवचन, दातासम्मान, पौष २९ गते पाठपारायण, तिलार्पण, कथाप्रवचन,त्यस्तै गरि माघ १ गते सामुहिक ब्रतबन्ध, कथाप्रवचन, दातासम्मान, माघ २ गते कथाप्रवचन, दातासम्मान,पूर्णाहुति हुदै महायज्ञ समापन हुने विद्यालयका पुर्व प्रधानाध्यापक एवं महायज्ञ संयोजक हरि प्रसाद आचार्यले जानकारी दिनुभएको छ ।
साथै मकरस्नान,पाठश्रवण,कथाश्रवण,चन्दादान, तुलादान एवं जिन्सी सहयोग गरी पुण्य आर्जनका लागि आचार्यले हार्दिक आग्रहका साथ सादर निमन्त्रणा समेत गर्नुभएको छ । आज सम्म महायज्ञको लागि सबैलाई आ-आफ्नो जिम्मेवारी बाँडफाँड गरिसकेको छ साथै महायज्ञलाई सफल पार्न विद्यालय परिवार तिव्र रूपमा अगाडि बढेको विद्यालयका सह-प्रधानाध्यापक अर्जुन पाण्डेयले जानकारी दिनुभयो । पाण्डेय महायज्ञको सचिवालय प्रमुखकाे जिम्मेवारीमा रहनु भएको छ ।
विद्यालयको अक्षयकोष स्थापना अर्थात् महायज्ञ सफल पार्नका निम्ति विद्यालयका भु.पु.शिक्षक र विद्यार्थीहरू लाई समन्वय गर्न शिक्षक मिलन घिमिरेले जिम्मेवारी दिइएको छ । साथै महायज्ञलाई सफल पार्नको लागि तनहुँ तर्फ बृहत भेला गर्ने भएको छ । सो भेला पाैष १ गते गलेश्वर आश्रममा सामाजिक संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि,राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधि,टाेल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि,आमा समूह अध्यक्ष एवं प्रतिनिधि,सामुदायिक वन उपभोक्ता समिति, संचारकर्मी लगाएतको उपस्थितिमा भेला हुने भएको छ ।



