पुस ३-
गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुु¥याएको रुकुम पश्चिममा झण्डै साँडे १३ हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । जिल्लाका छवटै पालिकाका १३ हजार तीन सय ८३ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन् ।
सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका चार हजार सात सय ४२ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ५९ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेका हन् । त्यस्तै सानीभेरी गाउँपालिकामा दुई हजार तीन सय २१, त्रिवेणी गाउँपालिकामा दुई हजार ६८ लाभग्राहीले पहिलो किस्ता प्राप्त गर्दा बाँफीकोट गाउँपालिका भने लाभग्राहीले अझै अस्थायी आवास निर्माणको रकम पाउन सकेका छैनन् ।
बाँकी लाभग्राहीलाई पनि खाता सञ्चालन भएपछि तत्काल रकम पठाइने उहाँले जानकारी दिनुभयो । त्यहाँ हालसम्म दुई हजार दुई सय ४० अस्थायी आवास निर्माण भइसकेको छ भने तीन हजार छ सय ९० वटा अस्थायी आवास निर्माणको चरण रहेको नगरपालिकाले जनाएको छ । चौरजहारी नगरपालिकामा चार हजार एक सय ९३ लाभग्राहीको खातामा रकम पठाइएको छ । जिल्ला विपद् व्यवस्थापन कोषबाट छ हजार दुई सय ७९ लाभग्राहीका लागि रकम प्राप्त भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकामा आठहजार तीन सय ८३ लाभ्रग्राहीको पहिचान भएको छ ।
अझै विगरण सङ्कलन गर्न केही दिन लाग्ने उहाँले जानकारी दिनुभयो । त्यहाँ एक सय १८ अस्थायी आवास निर्माण हुँदा एक हजार पाँच सय ३३ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । सानीभेरी गाउँपालिकामा अस्थायी आवास निर्माण गर्न दुई हजार तीन सय २१ लाभ्रग्राहीले पहिलो किस्ता पाएका छन् । पालिकाभर हालसम्म पाँच हजार चार सय २५ लाभग्राही पहिचान भएका छन् । जससमा बाँकी रहेका लाभग्राहीले पहिलो किस्ताबापतको रकम पाउन बाँकी रहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार पालिकाभर हालसम्म विभिन्न राजनीतिक दल सङ्घ संस्था तथा सरकारको अनुदानमा एक हजार छ सय अस्थायी आवास निर्माण भएका छन् । बाँकी अस्थायी आवास निर्माणको काम जारी रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै त्रिवेणी गाउँपलिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको सबै रकम अर्थात् दुई हजार ६९ लाभग्राहीका लागि आएको रकम खातामा पठाइएको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी रहेका छ सय ७३ लाभग्राहीका लागि रकम माग गरेर पठाइएको छ । विवरण सङ्कलनको काम अझै जारी छ ।
पालिकामा हालसम्म दुई सय २२ अस्थायी आवास निर्माण भएको र दुई सय ६४ अस्थायी आवास निर्माणको क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत घर्तीले जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन कोषबाट मुसिकोट नगरपालिकामा आठ सय ६६ लाभग्राहीको रकम प्राप्त भएकामा हालसम्म ५९ लाभगा्रहीलाई रकम पठाइएको नगरपालिकाले जनाएको छ । त्यहाँ हालसम्म नौ सयभन्दा बढी लाभग्राही पहिचान भएका छन् ।
बाँफीकोट गाउँपालिकामा जिल्ला विपद् व्यवस्थापन कोषबाट एक हजार छ सय ९९ लाभग्राहीलाई रकम गएको भए पनि कार्यकारी अधिकृत नहुँदा हालसम्म कुनै पनि लाभग्राहीले अस्थायी आवास निर्माणको लागि रकम दिन नसकिएको गाउँपालिकाले जनाएको छ । अस्थायी आवास निर्माण गर्न प्राप्त भएको रकम अपुग भएपछि सङ्घीय सरकारलाई रु एक अर्ब दुई करोड माग गरी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिनुभयो । रासस



