मध्यविन्दु (नवलपरासी), पुस ४
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१० मा बालविवाह गराएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेहुली, बेहुला, बेहुलीकी आमालगायत छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार स्थानीय ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको विवाह गराएको आरोपमा पाँच जनालाई मङ्गलबार राति पक्राउ गरिएको हो । “बालविवाह गराएको सूचनाका आधारमा विवाह गर्ने र गराउनेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो । छोरीलाई दबाब दिएर विवाह गराउने आमा, बालिकाका दुई सानीआमा, सानोबुवा र विवाह गर्नेलाई पक्राउ गरी १० दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।



