तनहुँ,नरम
मगर विद्यार्थी अक्षयकोष चितवनद्वारा देवघाट गाउँपालिका वडा नम्बर २ नरम स्थित श्री जानकी आधारभूत विद्यालयमा अध्यनरत ३० जना विद्यार्थीलाई शैक्षिक सामग्री कपि,कलम र झोला वितरण गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि देवघाट २ नम्बर वडा अध्यक्ष मिन बहादुर रानामगरले पालिकाको विकट स्थान रहेको जानकी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थी भाइबहिनीहरुलाई शैक्षिक सामग्री उपलब्ध गराएकोमा अक्षयकोष चितवनलाई धन्यवाद दिनुभयो।साथै अध्यक्ष रानामगरले पालिका २ वडाको नरम गाउँ सुन्तला पकेट क्षेत्र रहेको बताउदै यस गाउँको मुख्य आम्दानी सुन्तला रहेता पनि यातायातको कारणले गर्दा किसानले उचित मुल्य समेत नपाउने बताउनुभयो।
मगर विद्यार्थी अक्षयकोष चितवनले देउसी भैलोबाट संकलित रकम अक्षयकोष जम्मा गरी सो रकमको व्याजबाट हरेक वर्ष विकट स्थानहरुमा पुगी विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्दै आएको मगर विद्यार्थी अक्षयकोष चितवन अध्यक्ष निर्मल थापामगरले जानकारी दिनुभयो।साथै अध्यक्ष थापामगरले यो पटक भने देवघाटको विकट स्थान २ वडा नरम स्थित श्री जानकी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री कपि,कलम र झोला वितरण गरेको बताउनु भयो।




