मुग्लिन , पुस ९
चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो ।
रिक्सजा ट्राभल एजेन्सी नेदरल्याण्ड्सका प्रमुख मारियस एप्पलम्यानले हालै इच्छाकामना–२ तोवाङका तिलु चेपाङद्वारा सञ्चालित घरबास शुभारम्भ समेत गर्नुभयो । सो अवसरमा उहाँले चेपाङ सुमदायको संस्कार संस्कृति तथा जीवनयापनबारे जान्न पाउँदा निकै खुसी लागेको सुनाउनुभयो । साथै उहाँले यो पद मार्ग नेपालकै उत्कृष्ट बन्न सक्ने सम्भावना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो पद मार्ग नेपालकै उत्कृष्ट बन्ने सम्भावना छ, यहाँको चेपाङ सुमदायको रहनसहन संस्कार संस्कृतिबारे जान्न र बुझ्न पनि पाइन्छ ।”
घरबास सञ्चालिका तिलुले घरबास सञ्चालन गर्ने आफ्नो इच्छा पूरा गरिदिएकामा सपना भिलेजलाई धन्यवाद दिनुभयो । सो सस्थाले यस पद मार्गको सम्भाव्यताबारे अध्ययन गर्न गत वर्ष पनि रिक्सजा ट्राभल एजेन्सी न्यादरल्यण्ड्सका प्रमुख एप्पलम्यानलाई भ्रमण गराएको थियो । यस पद मार्गको दुई रात तीन दिनको रहेको सस्थाका अध्यक्ष गिरीले जानकारी दिनुभयो । नेदरलयाण्डसहित जर्मन, अमेरिका, फ्रान्सलगायतका देशका पर्यटक भित्र्याउने लक्ष्यका साथ यो पद मार्गको प्रचारप्रसारमा लागिरहेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “पर्यटकको आवागमन बढेसँगै यहाँका चेपाङ समुदायको आयस्तर वृद्धि हुने छ ।” सपना भिलेजले चितवनको चेपाङ समुदायको उत्थानका लागि विभन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा काम गरिरहेको सपना भिलेजले पर्यटनमार्फत ती समुदायको आयस्तर वृद्धि गर्ने लक्ष्य लिएको छ । रासस



