तनहुँ,पुस ११
तनहुँ जिल्लामा मंगलबार सम्पन्न भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको १५ अौं संस्करणमा देवघाट गाउँपालिकाले ठुलो सफलता प्राप्त गरेको छ । राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा अहिलेसम्म पदक विहिन हुँदै आएको देवघाट गाउँपालिकाले यसपटक विभिन्न विधामा ८ वटा पदक जितेका छन् । ९ वटा बिधामा ३२ जना खेलाडी सहभागी भएको देवघाट गाउँपालिकाले ८ पदक भित्र्याउन सफल भएको छ । भने १६ खेलाडीले मेडल जितेका छन् ।
प्रतियोगितामा देवघाटले १ स्वर्ण, २ रजत र ५ कास्य पदक जितेको छ । देवघाट गाउँपालिकाले छात्र भलिवलमा तृतीय स्थान हासिल गरेको छ । छात्रा तर्फको सटपुटमा भने परिमाया आलेले स्वर्णपदक जितेका थिइन् । देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापामगरले यसअघि सहभागिता मात्रै हुने कुनै विधामा पदक जित्न नसक्ने अवस्था थियो तर यो पटक भने ८ वटा पदक जित्नु गाउँपालिकाको ठुलो उपलब्धि रहेको बताउनुभयो। साथै गाउँपालिकाले खेलकुँदको क्षेत्रमा गरेको लगानी र खेलाडी विद्यार्थीले गरेको मेहनेतको कारण यो सफलता प्राप्त गरेको समेत अध्यक्ष थापामगरले बताउनुभयो ।
सो प्रतियोगिता अवधीभर खेलाडी विद्यार्थीलाई हौसला दिन गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगर, उपाध्यक्ष भुवनसिं गुरुङ र शिक्षा तथा खेलकुद शाखाका प्रमुख होमनाथ लामिछाने खेलमैदानमा खटिरहेको थियो । देवघाट युवा तथा खेलकुद बिकास संस्थाका अध्यक्ष अमर बहादुर फेवालीमगर सहित समितिका पदाधिकारीहरु पनि खेलाडीको सफलताको लागि हौसला प्रदान गर्न खटिरहेका थिए । सबैको अथाह प्रयास र मेहनतले यसपटक राम्रो नतिजा आएको बताउदै अर्को वर्ष जिल्लामै प्रथम हुने गरि तयारी गर्ने समेत संस्थाका अध्यक्ष फेवालीमगरले बताउनुभयो । राष्ट्रपति रनिङसिल्डमा प्रदेश स्तरमा हुने खेलमा देवघाट गाउँपालिका बाट भलिवल खेलतर्फबाट एक/एक जना छात्र छात्रा छनौट भएकाे जिल्ला भलिबल संघ तनहुँका अध्यक्ष पदम सुनारले जानकारी दिनुभएको थियो । साथै जिल्ला खेलकुद बिकास समिती तनहुँको अध्यक्ष अनिल पाण्डेले देवघाट गाउपालिकाले यस बर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्शिल्ड खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेको बताउदै प्रशंसा समेत गर्नुभएको थियो ।



