रत्ननगर
रत्ननगर नगरपालिकास्थित टिकौली चौरमा यही पुस २६ गतेबाट सुरू हुने रत्ननगर महोत्सव–२०८० को तयारी अन्तिम चरणमा पुगेको छ ।
रत्ननगर उद्योग वाणिज्य संघले आयोजना गरेको सो महोत्सवको स्टल निर्माण, प्रचारप्रसार र आन्तरिक व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको संघका अध्यक्ष तथा मूल व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिए । महोत्सवको समग्र व्यवस्थापनको काम करिब ९५ प्रतिशत सकिएको उनले बताए । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने छन् ।
कृषि उत्पादन र पर्यटन विकासलाई प्राथमिकता दिइएको सो महोत्सवमा यसपटक मकै बालीको प्रवद्र्धन र बजारीकरणमा जोड दिइएको छ । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको १२औँ संस्करण पौष २६ गते उद्घाटन भएर माघ ८ गतेसम्म चल्ने छ ।
विगत दुई दशकदेखि प्रत्येक दुई–दुई वर्षमा आयोजना भैरहेको यस महोत्सवले समग्र जिल्ला तथा विशेषगरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार, व्यवसाय र अन्य आर्थिक मह¤वका क्षेत्रहरुको आधुनिकीकरण र वैज्ञानिक उत्पादनलाई जोड दिएको संघका अध्यक्ष तथा महोत्सव मूल व्यवस्थापन समितिका संयोजक शंकर गिरीले जानकारी दिए ।
महोत्सवमा उद्योग, व्यापार, कृषि, पर्यटन, स्थानीय कला र संस्कृतिसहित राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा बहुराष्ट्रिय गरी करिब ४५० स्टलहरु रहने छन् । यसपटकको महोत्सवमा तीन लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने र करिब २५ करोडभन्दा बढीको कारोबार हुने अपेक्षा र अनुमान गरिएको छ ।
चितवनवासीहरुले गौरव र पर्वको रुपमा मान्दै आएको रत्ननगर महोत्सव व्यापार र व्यवसायको जगत्मा उत्कृष्ट र अनुपम नमुनाको रुपमा रहेको छ । चितवन कृषि उत्पादनको हिसाबले अब्बल जिल्लाको रुपमा साबित हुँदै आएको छ । महोत्सवमा कृषि उत्पादनलाई जोड दिइएको संघका उपाध्यक्ष हरि अधिकारीले जानकारी दिए ।
महोत्सव परिसरमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा मकै बाली विशेषगरी मकैका नयाँ प्रविधि, मकैका परिकार, ताजा तरकारी, थोपा सिंचाइ प्रविधि, केरा, माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै चितवनमा प्रबल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिएको संघका वरिष्ट उपाध्यक्ष निराजन खनालले जानकारी दिए ।
महोत्सव अवधिभर कृषिसँग सम्बन्धित, पूर्वी चितवनमा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सरोकारवालासँग जिल्ला ट्राफिक र प्रदेश ट्राफिकसँग समन्वय गरी दुर्घटना न्यूनीकरणसम्बन्धी अन्तक्र्रिया कार्यक्रम, चितवनको आर्थिक विकासका लागि विशेष आर्थिक क्षेत्रको स्थापना र चुनौती विषयक गोष्ठी सञ्चालन गरिने संघका महासचिव उपेन्द्र शर्मा आचार्यले जानकारी दिए ।
महोत्सवमा आर्थिक मन्दीका कारण धरासायी बन्दै गएका व्यवसायीहरुको सुुरक्षाका लागि छलफल र बहस गरी सरकारलाई नीतिगत सुधारका लागि सुझाव पेस गरिने छ । रत्ननगर नगरपालिका, सौराहाका पर्यटन व्यवसायी तथा संघको त्रिपक्षीय सहकार्यमा नगरभित्रका धार्मिक तथा अन्य पर्यटकीयस्थलहरुको अवलोकनको व्यवस्था मिलाइएको छ ।
विगतमा जस्तै महोत्सवअन्तर्गत पौष २९ देखि ४ गतेसम्म ५ दिन रत्ननगरको सौराहा चोक वसपार्कमा विभिन्न जनजातिहरुका विशेष खाना, उपभोक्ताहरुलाई गुणस्तरीय उत्पादन उपभोगका लागि विशेष परिकारसहित पाँचौँ रत्ननगर सांस्कृतिक खाना महोत्सव आयोजना गरिएको संघका पूर्वअध्यक्ष तथा खाना महोत्सवका संयोजक ज्ञानबहादुर बिसुरालले जानकारी दिए ।
रत्ननगर महोत्सवमा प्रवेशका लागि अवलोकनकर्ताले खरिद गरेको टिकटबाट मौलाकालिका केबलकारमा ५० प्रतिशत छूट दिने व्यवस्था मिलाइएको छ । महोत्सवको टिकट लिएर जानेले माघ १५ गतेसम्म सो सुविधा प्राप्त गर्न सक्ने संघले जनाएको छ ।



