चितवन, पुस २३-
चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पुर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका दुई वटा शवको पहिचान खुलेको छ । गत मंसिर ६ गते जुटको बोराभित्र डोरीले बाधेको अवस्थामा पुरुष र महिलाको शव फेला परेको थियो ।
घटनाको ४६ दिनपछि मृतक र हत्यामा संलग्न दुवै पक्षको विवरण प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार सार्वजनिक गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार हत्यामा संलग्न र मृतक दुवै पक्ष भारतीय नागरिक रहेका छन् । मृतक मध्ये भारतको मोतिहारी फलबारीवा स्थित सुगौलीका १९ बर्षिय ऋषभ कुमार कुशवाहा र भारतको बिहार सुगाँव डीह स्थित सुगौली पूर्वी चम्पारणकी अस्मिता भन्ने सन्जु देवी रहेको प्रहरीले जानकारी दिएको छ । हत्यामा संलग्न व्यक्ति मृतक सञ्जुका श्रीमान अखिलेश भगत प्रहरीले बताएको छ ।
घटना लगत्तै मंसिर १६ गते अखिलेश भगत कोही कसैलाई जानकारी नगराई भारत तर्फ लागेको प्रहरीले अनुसन्धान पछि पत्ता लगाएको छ । भारत प्रहरीसंग समन्वय अनुसनधानको क्रममा नेपालबाट गएको एक महिनापछि भारतको प्रहरीले पक्राउ गरेको छ । नेपालबाट प्रहरी गएर समेत सोधपुछको क्रममा हत्या गरेको स्वीकारेको प्रहरीले जानकारी दएको छ । उनी यसअघि पनि अपराध काण्डमा संलग्न रहेको प्रहरीले बताएको छ । उनीलाई यसअघि भारतमै अपहरण तथा व्यक्ति बेपत्ता परको आरोपमा उजुरी परेको छ । अहिले उनी भारतको केन्द्रीय कारागार गृह मोतिहारीमा रहेका छन् ।



