चितवन, पुस २८-
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन गर्दै सरकार अघि बढ्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले रेलमार्ग अध्ययनका क्रममा बस्तीमा परेको भन्दै जनता आन्दोलित बनेको विषयमा सर्वपक्षीय छलफलबाट समस्याको समाधान निकाल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको गुनासो सम्बोधन गरेर अघि बढ्छौँ ।” तत्काललाई अध्ययनको काम रोकिएको उहाँले जानकारी दिनुभयो । जनताको असन्तुष्टि गुनासाका विषयमा आफ्नो ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आज हामी यहाँको अवस्था केहो, के कति क्षति हुन्छ भन्ने विषयमा छलफलबाट निष्कर्ष निकाल्ने छौँ ।” जनप्रतिनिधि, दलका प्रतिनिधि र सरोकारवालाबीच आजै छलफल गरिने उहाँले बताउनुभयो । पूर्वपश्चिम रेलमार्गाको रेखाङ्कनको विषयमा आफूहरु छलफलका क्रममा रहेको उहाँले बताउनुभयो । विवाद आइसकेपछि काम अहिलेका लागि स्थगित गरिएको उहाँको भनाइ छ ।



