देवघाट पुस २८
शिक्षा विकास तथा समन्वय इकाई दमौलीको आर्थिक सहयोग एवं देवघाट गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा दुई दिवसीय कक्षा ५ को पाठ्यक्रम प्रबोधीकरण सम्बन्धीत कार्यक्रम देवघाट गाउँपालिकाको सभाहलमा शनिवारबाट सुरू भएको छ ।
आजबाट सुरू भई सो कार्यक्रम भोलि पनि पाठ्यक्रम शिक्षा सम्बन्धी विभिन्न विषयमा अन्तरक्रिया भई समापन हुने देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने जानकारी दिनुभयो ।
सो कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले हाल शिक्षा क्षेत्रमा देवघाट गाउँपालिकाले फड्को मार्दै आएको बताउदैँ केही वर्षमा देवघाट गाउँपालिकाको नाम शिक्षा क्षेत्रबाट विश्वसामु चिनाउन सफल हुने बताए । साथै अध्यक्ष थापाले पहिलेको तुलनामा देवघाट गाउँपालिकाले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएर अगाडि बढेको बताउनु भयो र आगमि दिनहरूमा गाउँपालिकाले शिक्षा क्षेत्रमा गर्नुपर्ने कामहरूमा कुनै कन्जुस्याइँ नहुने समेत अध्यक्ष थापाले प्रतिवद्वता जनाउनु भयो । पाठ्यक्रम शिक्षाको उद्देश्य अनुसार सामुदायिक विद्यालयलाई अगाडि बढाई प्राइभेट शिक्षा भन्दा सामुदायिक शिक्षा राम्रो छ भन्ने छाप समुदायमा छर्न अगाडि बढेको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ अध्यक्ष पूर्ण बहादुर कुँवरले बताए ।
आजबाट सुरू भएको सो कार्यक्रममा देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले पाठ्यक्रम सम्बन्धी नीतिगत तथा संरचनागतको विषयमा र आदर्श शिक्षा माध्यमिक विद्यालयका प्रधानाध्यापक देउराम सारूले पाठ्यक्रमद्वारा निर्दिष्ट शिक्षण विधि तथा पाठ्यक्रम निर्दिष्ट सिकाई सहजिकरण प्रकृयाको विषयमा प्रशिक्षण दिनुभएको थियोे । सो कार्यक्रममा देवघाट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल,गाउँपालिकाका योजना शाखा प्रमुख राम प्रसाद सापकोटा, गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख शुभद्रा भट्टराई, उद्यम विकास सहजकर्ता तिर्थ प्रसाद लम्साल लगाएतको उपस्थितिमा सुरू भएको छ ।



