पुस २९-
ड्राइभिङ स्कुल सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका राजकुमार गुरुङ निर्वाचित हुनुभएको छ । भरतपुरमा शनिबार भएको पाँचौं महाधिवेशनको निर्वाचन प्रकृयाबाट चितवनका गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो ।
गुरुङ स्किल ड्राइभिङ ट्रेनिङ सेन्टर प्रालीका सञ्चालक एवं सङ्घका केन्द्रीय उपाध्यक्ष गुरुङले यसपटकको नेतृत्व चितवनले पाउनुपर्ने भन्दै छलफल तीव्र बनाएपछि सबैलाई उहाँलाई समर्थन गरेपछि निर्विरोध निर्वाचित भएको महाधिवेशन संयोजक राजाराम परियारले जानकारी दिनुभयो ।
आगामी दुई वर्षका लागि निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद घिमिरे –(कोशी), उपाध्यक्षहरुमा बाबुराम प्रधान (कोशी), महेश पौडेल (बागमती), महासचिवमा गोविन्दप्रसाद ढकाल (लुम्बिनी), सचिवहरु धनबहादुर अधिकारी (लुम्बिनी), विष्णुप्रसाद पोखरेल (गण्डकी) एवं कोषाध्यक्षमा विश्वकुमार माकाजु (गण्डकी) निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक अनिल गजुरेलले जानकारी दिनुभयो । त्यस्तै सदस्यहरुमा चेतभक्त पौडेल (गण्डकी), खुमराज खड्का (लुम्बिनी), हरि ढकाल (बागमती), दीपनारायण साह (जनकपुर), वीरेन्द्रराज भुर्तेल (गण्डकी), साधुराम थापा (मोरङ), नैनबहादुर विष्ट (कैलाली), गीता अर्याल पन्त (लुम्बिनी), सुरज सिवाकोटी (कैलाली), अनन्त घिमिरे (मोरङ), भूपेन्द्रबहादुर थापा (सुनसरी) र अर्जुन केसी (नवलपुर) निर्वाचित हुनुभएको गजुरेलको भनाइ छ ।
ड्राइभिङ स्कुल सङ्घ नेपालको ३० सदस्यीय कार्यसमिति रहने विधानअनुसार बाँकी सदस्य पछि थप्ने नवनिर्वाचित अध्यक्ष गुरुङले बताउनुभयो ।गुरुङले आफूलाई विश्वास गरेर सर्वसम्मत निर्वाचित गराउनुभएकोमा सम्पूर्ण व्यवसायीहरुलाई धन्यवाद दिँदै व्यवसायिक हक हितका लागि आफूले जुनसुकै काम गर्नको लागि पनि तयार रहेको बताउनुभयो । निर्वाचित नयाँ कार्यसमितिलाई शनिबार राति नै पद तथा गोपनीयताको शपथग्रहण गराइएको छ । महाधिवेशनको उद्घाटन नेपाल सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री प्रकाश ज्वालाले गर्नुभएको थियो ।



