भारतलाई बिजुली बेच्ने सम्झौता तत्काल कार्यान्वयन हुनुपर्छ : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे

images
  • 186
    SHARES
  • माघ २, २०८० मंगलबार
    भारतलाई बिजुली बेच्ने सम्झौता तत्काल कार्यान्वयन हुनुपर्छ : पूर्वअर्थमन्त्री  सुरेन्द्र पाण्डे
    images

    रत्ननगर

    नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भारतलाई बिजुली बेच्न सरकारले गरेको सम्झौता तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन् । नेपाल सरकारले १० वर्षमा १० हजार मेघावाट बिजुली बेच्ने गरी भारत सरकारसँग गरेको सम्झौता स्वागतयोग्य रहेको भन्दै उनले सरकारले त्यसको तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

    रत्ननगर उद्योग वाणिज्य संघले उद्योग वाणिज्य संघ–चितवनको नवनिर्वाचित समितिलाई स्वागतका लागि आयोजना गरेको कार्यक्रममा उनले भारतलाई बिजुली बिक्री गर्दा नेपालको आयस्रोत बढ्ने र अहिलेको आर्थिक सङ्कट समाधान हुने बताए । ‘बिजुली बेच्न नेपाल सरकारले भारत सरकारसँग सम्झौता गर्दा विरोधका स्वरहरु सुनिए’, उनले भने, ‘यसमा विरोध गर्नुपर्ने कारण छैन, बरू सम्झौता कार्यान्वयनमा सरकार चनाखो हुनुपर्छ ।’

    पूर्वअर्थमन्त्री पाण्डेले पुँजीगत खर्च हुन नसकेका कारण आर्थिक सङ्कट देखा परेको बताए । ‘सरकारले पुँजीगत खर्च गर्नै सकेन’, उनले भने, ‘त्यसको असर मुलुकको अर्थतन्त्रमा देखियो ।’ वार्षिक ६ खर्ब बढी पुँजीगत खर्च हुनुपर्नेमा २ खर्ब ३२ अर्ब मात्र भएको उनले जानकारी दिए ।

    पाण्डेले अर्थमन्त्री डा. प्रकाशशरण महतले भनेजस्तो अर्थतन्त्र सजिलो अवस्थामा नरहेको बताए । आम्दानी र खर्चको अनुपातको मूल्याङ्कन नै नगरी अर्थमन्त्रीले जबर्जस्ती अर्थतन्त्रमा सुधारको बाटो देखाउन खोजेको उनको आरोप छ । पूर्वअर्थमन्त्री पाण्डेले पुँजीगत खर्च वृद्धि गर्न सके निजी क्षेत्रको गतिविधि बढ्ने र अर्थतन्त्रमा सुधार हुने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले आर्थिक मन्दीका कारण नेपालको निजी क्षेत्र सङ्कटमा परेको बताए । निजी क्षेत्र सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै उनले सरकारले अर्थतन्त्र सुधार गर्नेतर्फ पर्याप्त ध्यान नदिएको बताए ।

    उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले व्यावसायिक सुरक्षाका लागि व्यावसायिक एकता आवश्यक रहेको बताए ।

    रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले रत्ननगर महोत्सवको उद्देश्यमाथि प्रकाश पार्दै व्यावसायिक सुरक्षाका लागि उद्योग वाणिज्य संघसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । दुई संघबीच भगिनी सम्बन्ध रहेको भन्दै यो सम्बन्धलाई व्यवसायीको हितमा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका निवर्तमान अध्यक्ष चुननारायण श्रेष्ठसहित नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु, रत्ननगर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हरिहरण पाठकसहित पदाधिकारी तथा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष निराजन खनालले सञ्चालन गरेका थिए ।

    रत्ननगर महोत्सव परिसरमै उवासंघ चितवनको टोलीलाई स्वागत गरिएको हो । औपचारिक कार्यक्रमलगत्तै पूर्वअर्थमन्त्री पाण्डेसहित उवासंघ चितवनको टोलीले महोत्सवको अवलोकन तथा निरीक्षण गरेको संघका सदस्य तथा संघसंस्था समन्वय समितिका संयोजक अनिल अधिकारीले जानकारी दिए ।

    टोलीले कृषि परिसर, उद्यमी महिलाहरुको उत्पादन, सांस्कृतिक घर, मोटरबोटलगायत निरीक्षण गरेको संघका उपाध्यक्ष हरि अधिकारीले जानकारी दिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend