३ माघ, २०८० देवघाट ।
गुरूङ र मगर समुदायमा प्रचलित लोक नृत्य हो, मारूनी । कुमाल समुदायमा पनि यो नाच नाचिन्छ । तर, पछिल्लो समय यो नाच पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा आइपुगेको छ । बसाइसराइ तथा युवाहरुको वैदेशिक यात्राका कारण पुस्तौँदेखि चल्दै आएको यस्ता लोक नृत्य लोप हुने अवस्थामा पुगेको हो ।

तनहुँको देवघाट गाउँपालिका वडा नं.२ नरम गाउँमा भने लामो समयपछि पुनः कृष्णचरित्रमा आधारित मारुनी नाच संरक्षणको लागि प्रयास थालिएको छ । गाउँका पुराना व्यक्तिहरुको उपस्थितिमा नाच संरक्षण सुरु गरिएको हो । ‘धेरै वर्षपछि फेरि ब्युँताउने प्रयास गरेका छौँ । तर, संरक्षण गर्न सजिलो छैन,’ स्थानीय अगुवा भक्तबहादुर थापामगर भन्छन्, ‘तैपनि प्रयास थालेका छौँ।’ गाउँमा नयाँ पुस्तामा पुस्तान्तरण हुन नसक्दा मगर समुदायमा प्रचलित लोक नृत्यहरु लोप हुँदै गएको उनी बताउँछन् । ‘छोराछेरीलाई हामीभन्दा अलि जान्ने बनाउनलाई पढाउन थालेको हो । तर, पढाइले गर्दा खैँजडी बजाउन पनि छोड्या छ, मादल बजाउन पनि छोड्या छ,’ उनी भन्छन्, ‘हाम्रो चाहना पढाइ लेखाइसँगसँगै पुरानो संस्कृति पनि जोगाइदेओस् भन्ने हो ।’ तैपनि नयाँ पुस्तालाई समेटेर हराइसकेको नाचलाई ब्युँताउने प्रयास भइरहेको उनको भनाइ छ । लोक नृत्य संरक्षणको लागि स्थानीय सरकारसँग आवश्यक सामग्री जुटाइदिन स्थानीयले आग्रह गरेका छन् ।

पछिल्लो समय धर्म परिवर्तनले पनि मौलिक संस्कृतिमाथि प्रहार भएको उनी बताउँछन् । गाउँमा अधिकांश मगर परिवारले धर्म परिवर्तन गरिदिँदा मगर जातिभित्रको संस्कार, संस्कृति नै हराउँदै गएको भक्तबहादुर बताउँछन् । वडा कार्यालयले पनि मौलिक लोक संस्कृति संरक्षणको लागि सहयोग गर्ने वडाअध्यक्ष मीनबहादुर रानामगरले बताए । ‘हराइसकेको संस्कृति संरक्षणमा लागेर गाउँको इज्जत जोगाउने अभियानमा लागेको हुँदा पहिलो चरणमा के आवश्यक पर्छ, त्यसको व्यवस्थापन गरिदिन वडा कार्यालय तयार छ, म तयार छु,’ उनले भने ।

धर्म निरपेक्ष राष्ट्रमा धर्म मान्ने विषय व्यक्तिगत स्वतन्त्रताको कुरा भए पनि धर्म परिवर्तनपछिको प्रभाव नराम्रोसँग पर्न थालेको स्वीकार्दै उनी भन्छन्, ‘धर्म परिवर्तनले सामुदायिक संस्कृतिमा पनि नराम्रो असर पर्दोरहेछ । तैपनि जति छन्, त्यतिबाटै संरक्षणको प्रयास हुनु सकारात्मक पाटो हो ।’ तर, सरकारले संविधानको मर्मअनुसार जनताले जुनसुकै धर्म र संस्कार अपनाए पनि सबैलाई समान नजरले हेर्दै आएको उनले बताए ।



