डडेल्धुरा, २१ जेठ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको छ । डडेल्धुरा अस्पतालको स्तरउन्नती नै हुन नसकेको समयमा सरकारले गरेको यो घोषणा चुनावी नारा मात्रै हुन सक्ने भन्दै नागरिकले शंसय व्यक्त गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा सकारात्मक भए पनि कार्यान्वयन चुनौतीपूर्ण र असम्भव देखिएको डडेल्धुरा अस्पतालका पूर्व अध्यक्ष लक्ष्मण सिंहले बताउनुभयो ।
नीति तथा कार्यक्रम र बजेटमा नै समेटिएको विषय कार्यान्वयनमा ल्याउन पहल गर्नुपर्नेमा नागरिकहरूले जोड दिएका छन् । यसलाई चुनावी नारा र एजेण्डा मात्रै नबनाउन स्थानीय लक्ष्मिदत्त पनेरु बताउनुहुन्छ।
डडेलधुरा,प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला भएको र अन्य जिल्लाको बजेट र कार्यक्रम काटेर आफ्नो जिल्लामा लगेको भन्दै कतिपयले विरोध गरिरहेका छन् । डडेलधुराबासी यसबाट खुसी भएका छन् र यसलाई कार्यान्वयनमा ल्याउन दबाब दिनुपर्ने अभियानमा रहेका छन् ।
पाँच पटक प्रधानमन्त्री र पार्टीको शीर्ष नेतृत्व सम्हाल्दा गृह जिल्लाको लागि खासै ठूला कार्यक्रम नपार्नुभएका प्रधानमन्त्री देउवाले यसपटकको स्थानीय तहको निर्वाचन चुनौती महसुस गरेपछि जिल्लाको लागि कार्यक्रम राखेको कतिपयको विश्लेषण रहेको छ ।



