चितवन
रत्ननगर-११ मङ्गलपुरस्थित नेपाल इकाइ मगर संघले दुई जनालाई सम्मान गरेको छ। माघे सक्रान्ती पर्व तथा भयँर पूजाको अवसरमा शुक्रबार सरिना थापामगर र रचना रानामगरलाई नगदसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो।

सरिना थापामगरलाई मगर समुदायको मौलिक संस्कृति जगेर्ना गर्न योगदान दिएको र रचना रानामगरलाई जिल्ला संघले आयोजना गरेको वक्तृत्वकलामा सहभागी भएको भन्दै सम्मान गरिएको इकाइ मगर संघका अध्यक्ष हर्क सारुमगरले जानकारी दिए। दुवैजनालाई रत्ननगर नगरपालिकाका मेयर प्रह्लाद सापकोटामार्फत सम्मान गरिएको हो। सम्मानपछि शुभकामना मन्तव्य दिँदै मेयर सापकोटाले आदिवासी जनजाति समुदायको संस्कृतिकै कारण देशको सांस्कृतिक धरातल जीवित रहेको बताए।
मेयर सापकोटासमक्ष मगर समुदायले मङ्गलपुरमा सभा हल तथा लखन पार्क निर्माण गर्ने योजना सुनाएका थिए। उक्त योजनाप्रति मेयर सापकोटाले सकारात्मक प्रतिक्रिया दिएका छन्। यो समुदायको लागि सभा हल र लखन पार्क दुवै आवश्यकताको विषय भएको भन्दै यसबारे नगरपालिकाले आवश्यक सहयोग गर्ने बचन दिए। मेयर सापकोटाले के कसरी निर्माण गर्ने भन्ने विषयमा बसेर छलफल गर्न आवश्यक रहेको समेत बताएका छन्।
नेपाल मगर संघ चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले मगर समुदायले आफ्नो जातिको संस्कृतिलाई यथावत राख्न सक्नुपर्ने बताए। त्यसका लागि सबै इकाइ समितिले नियमित कार्यक्रम गरेर मगर समुदायलाई जगाइराख्नु पर्ने सुझाव दिए। संस्कृति देशकै मुख्य गहना भएको हुँदा यसको संरक्षणमा हरेकले चासो देखाउनु पर्ने उनको भनाइ छ।



