माघ १२-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबीच संवाद हुनुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्र सङ्घको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उहाँले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताउनुभयो ।
छलफलमा इजुमी नाकामित्सुले निःशस्त्रीकरण मामिलाको दक्षिण एसियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरिएको र नेपाल दक्षिण एसियाली क्षेत्रमा शान्ति केन्द्र बन्ने अपेक्षा राखेको बताउनुभयो । “परमाणु हतियारले सुसज्जित छिमेकीका बीचमा नेपाल शान्ति केन्द्र बन्ने अपेक्षा राखेर केन्द्रको स्थापना गरिएको हो”, उहाँले भन्नुभयो, “नेपालले विगतमा झैँ क्षेत्रीय र वैश्विक शान्तिका पक्षमा आफ्नो भूमिका प्रभावकारी खेल्ने अपेक्षा रहेको छ ।” सो अवसरमा इजुमीले शान्ति मिसनमा दोस्रो योगदानकर्ता राष्ट्रका रुपमा नेपालले खेलेको भूमिकाको समेत प्रशंसा गर्नुभयो । छलफलमा संयुक्त राष्ट्र सङ्घको नेपालस्थित आवासीय प्रतिनिधि हाना सिङ्गर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो । रासस



