१६ माघ, काठमाडौं
भारतीय सीमादेखि चीनसम्म जोड्ने गरी पदयात्रा मार्ग (ट्रेकिङ रुट) तयार भएको छ । पर्यटन व्यवसायी तथा अर्थबाउन्ड एक्सपिडिसन प्रालि अध्यक्ष राजन सिंखडाले छिमेकी भारतको खुनुवा नाकादेखि चीनको केरुङ नाका जोड्ने गरी नयाँ ट्रेकिङ रुट सोमबार सार्वजनिक गरे ।
६० मिटर उचाइको नेपालको तराईका भू–भागदेखि पहाडी क्षेत्रका धेरै जिल्लाका ऐतिहासिक एवम् पर्यटकीय गन्तव्यस्थल हुँदै ३ हजार ७ सय मिटर उचाइमा रहेको हिमाली क्षेत्रको रसुवा केरुङ नाका जोड्ने यो नयाँ ट्रेकिङ रुट ‘अफसिजन’ मा १२ महिना नै सञ्चालन गर्न सकिने सिंखडाले जानकारी दिए ।
आफूअनुकूल विभिन्न खण्डमा पदयात्रा गर्न सकिने यो ट्रेकिङ रुटलाई व्यावसायिक रूपमा सञ्चालन गर्दा करिब २० दिनमा पूरा हुने उनी बताउँछन् । प्राकृतिक मनोरम दृश्यले धेरै मनोरञ्जन दिलाएर पर्यटक खुसी बनाउन सकिने अथाह सम्भावना भएको यस ट्रेकिङ रुटमा कम खर्चमा भ्रमण गराउन विभिन्न गाउँमा भएका होमस्टे र स–साना होटल तथा क्याम्प प्रयोग गर्न सकिने उनले बताए ।
उनका अनुसार दुई वर्षको तयारीपछि यो ट्रेकिङ रुट खोजी गरिएको हो । ट्रेकिङ दौरान १७ दिनमा होमस्टे र साना होटलमात्र उपयोग गरिएको उनले बताए । भारत र चीनबाट नेपाल भएर आवतजावत गर्ने विदेशी पर्यटकलाई नेपालको संस्कृति र पर्यटनबारे जानकारी गराउन यो ट्रेकिङ रुट एकदमै उपयुक्त हुने दाबी गरिएको छ । उनका अनुसार २० दिनको लागि ३ हजार ५ सय अमेरिकी डलरमा यो ट्रेकिङ रुटको व्यावसायिक सञ्चालन सम्भव रहेको उनले बताए ।



