१७ माघ, भरतपुर
चितवन राष्ट्रिय निकुञ्जसँगै यस आपसमा रहेका मध्यवर्ती सामुदायिक वन पनि पर्यापर्यटनका लागि उत्कृष्ट गन्तव्य हुन् । यहाँ आउने आन्तरिक र बाह्य पर्यटकलाई समुदायिक वनमा जैविक विविधतासँगै वन्यजन्तु र चराचुरुङ्गी देखाउने गरिएको छ ।
यसैमध्येको एक चितवनको मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत रहेको जनकौली मध्यवर्ती सामुदायिक वन पनि पर्यटकीय गतिविधिका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गइरहेको छ । सौराहा घुम्न आउने पर्यटक यहाँ रहेको ढुङ्ग्रे खोलामा डुङ्गा शयर गर्न रुचाउँछन् । रत्ननगर नगरपालिका–५ र ६ मा पर्ने सो सामुदायिक वन सौराहासँगै जोडिएको छ ।
उनले यहाँ घुम्न आउने पर्यटकका लागि डुङ्गा शयरसँगै जङ्गल बाक, बर्ड वाचिङ, सर्ट जङ्गल ड्राइभ, इलिफेन्ट उइथ वाकलगायतका प्याकेज दिने गरेको बताए । यहाँ पर्यटकलाई रातको समयमा बास बसेर वन्यजन्तु अवलोकन गर्ने मचान पनि निर्माणको तयारी गरिरहेको महतोले जानकारी दिए ।
ढुङ्ग्रे खोला कुमरोज र जनकोली सामुदायिक वनको सिमाना भएर बग्ने गर्छ । डुङ्गा घाटबाट हात्तीसारसम्म डुङ्गा चलाउने गरिएको छ । डुङ्गा सफारी गर्ने पर्यटकलाई केही समय जङ्गल वाक गराएर राष्ट्रिय प्राकृतिक संरक्षण केन्द्रको म्युजियम र निकुञ्जको हात्तीसारमा घुमाउने गरिएको छ ।
डुङ्गा सयर गर्दा आन्तरिक पर्यटकका लागि रु चार सय ५० र बाह्य पर्यटकका लागि रु पाँच सय ५० शुल्क लिने गरिएको छ ।अध्यक्ष महतोले चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्राकृतिक संरक्षणको कोषका हरेक संरक्षणमा सामुदायिक वनले सहभागिता जनाउने गरेको बताए ।
चोरी सिकारी नियन्त्रणमा र मध्यवर्तीका स्थानीयलाई विभिन्न सीपमूलक तालिममार्फत जीविकोपार्जनका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उनले जानकारी दिए । मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे सौराहाको पर्यटन विकासका लागि ढुङ्ग्रे खोलाको डुङ्गा शयरले महत्त्वपूर्ण योगदान पुर्याएको बताए ।
मृगकुञ्ज उपभोक्ता समितिअन्तर्गत पाँच सामुदायिक वन रहेको भन्दै उनले सबै वनको आ-आफ्नो विशेषता रहेको जानकारी दिए ।
उनले सौराहा आउने पर्यटकका लागि डुङ्गा शयर राप्तीपछिको गन्तव्य ढुङ्ग्रे खोला भएको बताए। डुङ्गा शयरबाट मात्रै यस सामुदाकि वनले वार्षिक रु १५–१६ लाखको कारोबार गर्ने गरेको उल्लेख गरे ।
यहाँ हुने आम्दानीको ३० प्रतिशत कुमरोज र ७० प्रतिशत जनकौली सामुदायिक वनले लिने गरेका छन् । ‘यहाँका समुदायिक वनको आयस्रोत पर्यापर्यटन नै हो, वन्यजन्तु र वनस्पति देखाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ”, उनले भने ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना मध्यवर्ती क्षेत्रका समुदायिक वनमा कोभिडपछि यस वर्ष पर्यटक सबैभन्दा धेरै आएको बताए । उनले जलचर प्राणी र चराचुरुङ्गीका लागि ढुङ्ग्रे खोला क्षेत्र उत्कृष्ट बासस्थान भएको बताए । उनले मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले पनि यहाँ विभिन्न माध्यममार्फत पर्यटन प्रवर्द्धनमा सहयोग गरिरहेको जानकारी दिए ।



