नारायणगढको पुङ्गी खोलाको सौन्दर्यकरण काममा तीव्रता

images
  • 116
    SHARES
  • माघ १८, २०८० बिहीबार
    नारायणगढको पुङ्गी खोलाको सौन्दर्यकरण काममा तीव्रता
    images

    चितवन, माघ १८

    भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पुङ्गी खोलाको सौन्दर्यको कार्यले तीव्रता पाएको छ । करिब १० महिनाअघि सुरु भएको सीमाङ्कनको कार्य निरन्तरतामा छ भने पुंगी खोलाको दोभानबाट सौन्दर्यकरणको काम अघि बढिरहेको छ । खोलाको वडा ३, ४ मा पर्ने करिब ५ किलोमिटरको सीमाङ्कनको कार्य पूरा भइसकेको छ भने वडा नम्बर २ र ११ को एक किमिमा सीमाङ्कनको कार्य हुँदैछ ।

    ६ किलोमिटर लम्बाई रहेको पुङगी खोलाको चौडाई १० देखि ४० मिटरसम्म छ । वर्षात्को समयमा काम गर्न असहज हुने भएकाले हिँउदको समयमै दुबै कार्यलाई तीब्रता दिइएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन्।

    ‘सीमाङ्कन पूरा गरेर काम गर्छु भन्दा अझै समय लाग्ने भयो’ ,उनले भनिन् ,‘ दुवै काम एक साथ बढाउदा जनतामा उत्साहा थपिन्छ । सुन्दर र हरियाली सहर बनाउने संकल्प पूरा हुन्छ ।’

    भरतपुरको गौरवको आयोजनामा रहेको पुङ्गी खोला सौन्दर्यकरण गर्ने कार्यमा सक्रिय सहयोग गर्न मेयर दाहालले अनुरोध गरेकी छन् । सीमाङ्कनको कार्य र आयोजनाको बारेमा स्थानीयलाई सहजीकरण गर्न मेयर दाहाल फिल्डमै पुग्ने गरेकी छन् ।
    मेयर दाहालले कुनै पनि काम असम्भव नहुने भएकाले यो कामलाई फत्ते पार्न पुंगी खोला संरक्षण समिति यो कार्यमा निरन्तर लागिरहेको बताइन् । आफ्नै कार्यकालमा संघ, प्रदेश र महानगरपालिकाको बजेटबाट काम पूरा गर्ने लक्ष्य पनि लिएको उनको भनाइ छ । पहिलो चरणको निर्माण कार्यअन्र्तगत पुङ्गीको दोभानबाट ३५० मिटर क्षेत्रमा सौन्दर्यकरणको काम गरिने छ । जसमा वृक्षरोपण, फुटरेल, रिटेनिङ वाल, रेलङिसहितको मर्निङ र इभिनिङवाक गर्न मिल्ने गरी संरचना निर्माण हुनेछन् ।

    गुरुयोजना अनुसार खोला किनारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने छ । यहाँ पर्यटकले चिया, खाजा खाने स्टेशन, विश्रामस्थल, खुला व्यामशाला पनि रहने छ । पुङ्गी खोला र केरुङ् खोलाको सौन्दर्यकरण गर्ने कार्य महानगरको ढल व्यवस्थापनका लागि महत्वपूर्ण आयोजना हो । बढ्दो सहरीकरणले भरतपुरमा वर्षातको समयमा आकाशे पानी व्यवस्थापनमा समस्या देखिएपछि पुङ्गी र केरुङ्गा खोलाको सौन्दर्यकरण र व्यवस्थापनमा महानगर निरन्तर अघि बढेको छ ।

     

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend