बजेट अभावले पूरा भएन चितवनको बाइपास सडक

images
  • 371
    SHARES
  • माघ १८, २०८० बिहीबार
    बजेट अभावले पूरा भएन चितवनको बाइपास सडक
    images

    चितवन, माघ १८

    पूर्वपश्चिम राजमार्गबाट नारायणगढ बजारलाई छाडेर काठमाडौँतर्फ जाने बाइपास सडक निर्माण सुरु भएको आठ वर्षमा ९४ प्रतिशत काम भएको छ । दुई खण्डमा ठेक्का लगाइएको उक्त सडक आठ वर्षमा पनि सम्पन्न हुन नसकेको हो ।

    केन्द्रीय बस ट्रमिनलबाट आँपटारीसम्मको बाइपास सडकमा अहिले फुटपाथ व्यवस्थापनको काम मात्र बाँकी छ । पश्चिमतर्फको काम सम्पन्न गरी पूर्वतर्फ बसेनीबाट आँपटारी चोकसम्ममा फुटपाथ व्यवस्थापनको काम बाँकी रहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी ई चन्द्रेश्वर साहले जानकारी दिनुभयो । बहुवर्षीय योजनाअन्तर्गत आर्थिक वर्ष २०७१/७२ देखि सुरु हुँदै आएको यो सडकको निर्माण अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।
    बहुवर्षीय योजनाको यो सडकका लागि पछिल्लो समय बजेट अभाव भएको छ । बजेट नपरेपछि सडक विभागमा सडक डिभिजन कार्यालयले पत्राचार गरेको उहाँले बताउनुभयो । बाइपास सडक निर्माणका लागि पहिलो ठेक्का केन्द्रीय बस ट्रमिनलबाट विशाल चोकसम्म र दोस्रो ठेक्का विशाल चोकबाट आँपटारीसम्म दिइएको थियो । पहिलो ठेक्का चार किलोमिटर सडक दुई लेन बनाउनका लागि ठेक्का गरिए पनि स्थानीयको मागसँगै त्यसलाई छोट्याएर दुई किलोमिटर सडक चार लेनमा निर्माण गरिएको छ । पहिलो खण्डको ठेक्का गौरी–पार्वती निर्माण सेवाले रु १२ करोडमा पाएको थियो । पहिलो खण्डमा ९६ प्रतिशत काम सम्पन्न भइसकेको छ भने सम्झौताको म्याद गत भदौमा सकिएको थियो ।

    दोस्रो खण्डमा भने पशुपति रायमाझी जेभीले काम गर्दै आएको छ । सो खण्डको काम पनि अन्तिम चरणमा पुगेको छ । फुटपाथमा स्ल्याप राख्ने काम भइरहेको छ । गत आर्थिक वर्षमा निर्माण सम्पन्न हुनुपर्नेमा सो खण्डमा बजेट अभावका कारण पूरा हुन नसकेको हो ।

    निर्माण कम्पनीले ९० प्रतिशत काम सम्पन्न गरे पनि बजेट निकासा हुन नसक्दा निर्माण कम्पनीले पैसा पाउन सकेको छैन । डिभिजन सडक कार्यालयका प्रमुख रमेश पौडेलका अनुसार सो कम्पनीलाई बाँकी रकम भुक्तानी गर्न सकिएको छैन । पछिल्लो समय गरेको कालोपत्रलगायत कामको भुक्तानीका लागि पनि विभागमा बजेट माग गरिएको छ । रासस

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend