भरतपुर,माघ १८
नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउसको समयमा बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।
३५ मिटरबाट फोड्न सुरु गरिएको चट्टान १३/१४ मिटर बाँकी छ । हाई पावरका तीन वटा एक्साभेटर प्रयोग गरेर चट्टान फोर्ने काम भइरहेको आचार्यले जानकारी दिनुभयो । काम प्रभावकारी हुँदै गएको भन्दै उहाँले विस्फोट गर्नुपर्ने अवस्था टरेको बताउनुभयो । आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । ३५ मिटर रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ । उहाँका अनुसार टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो ।
सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्सट्रक्सनले पुलको काम गरिरहेको छ । हालसम्म आठ पुल सञ्चालनमा आइसकेका छन् ।
यो राजमार्गलाई एशियाली विकास बैंक (एडिबी)को सहयोगमा एशियन मापदण्डानुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रिने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।



