भरतपुर ।
नारायणगढ बसपार्कमा जथाभावी फोहोर फाल्नेलाई कडाई गरिँदै छ । नारायणगढ बसपार्क टोल सुधार तथा बस व्यवस्थापन समितिले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरी बसपार्कमा जथाभावी फोहोर नफाल्न आजदेखि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ ।
एक हप्तासम्म सञ्चालन हुने सचेतनामुलक कार्यक्रम अन्तर्गत बसपार्कबाट सञ्चालन हुने यात्रुबहाक सवारी साधनमा स्टिकर टाँस्ने, पर्चा पम्पलेट बाँड्ने एवम् माइकिङ गरिने छ ।
एक हप्तापछि जथाभावी फोहोर फाल्नेलाई जरिवाना तिराउन थालिने नारायणगढ बसपार्क टोल सुधार तथा बस व्यवस्थापन समितिका अध्यक्ष पदम कुमार श्रेष्ठले बताए । आज करिब एक सय गाडीमा सचेतनामुलक स्टिकर टाँसिएको उनले जानकारी दिए ।
एक हप्तासम्म जथाभावी फोहोर नफाल्न सूचना सम्प्रेषण गर्दा पनि अटेर गरी फोहोर फालेमा प्रथम पटकमा २००, दोस्रो पटकमा ३०० र तेस्रो पटकमा ५०० रुपैयाँ जरिवाना तिराइने उनले बताए । उनका अनुसार भरतपुर महानगरपालिका वडा नं १ को सहमतिमा जरिवाना तिराउन लागिएको हो । जथाभावी फोहोर फाल्नेको निगरानी सिसि क्यामरा र सुरक्षा गार्डबाट गरिने उनले जानकारी दिएका ।
उनका अनुसार बसपार्क क्षेत्रमा मात्रै १२ वटा सिसि क्यामरा छन् । त्यस्तै, दिउँसो चार जना र रातको समयमा दुई जना सुरक्षा गार्ड पनि परिचालन गरिने उनले बताए । फोहोरको उचित व्यवस्थापनका लागि बसपार्कको ठाउँ–ठाउँमा डस्टविनका रुपमा डोको राखिएको छ ।
भरतपुर–१ का वडाध्यक्ष केशव महर्जनले जथाभावी फोहोर फाल्न नहुने सचेतनामुलक कार्यक्रमसँगै जरिवाना तिराउने कार्यलाई निरन्तरता दिन आग्रह गरे । फोहोर फाल्नेलाई जरिवाना तिराउनुपर्ने अवस्था आउनु नै नराम्रो भएको भन्दै उनले जरिवाना तिराउनु बाध्यता पनि भएको बताए । जरिवाना लिनुभन्दा पनि बसपार्कलाई सफा सुग्घर राख्नु वडाको प्राथमिकता भएको उनले बताए ।