नवलपुर ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा सामुदायिक वनले संरक्षणको नाममा व्यापक वन फँडानी गरेको छ । मध्यविन्दु नगरपालिका–१५ मा रहेको नवदुर्गा सामुदायिक वनले वन संरक्षणका लागि तारबार गर्ने बहानामा व्यापक वन फँडानी गरेको हो ।
उक्त सामुदायिक वनले तारबारको नाममा कम्तीमा ७० वटा रुख कटान गरेको मध्यविन्दु–१५ की वडा सदस्य अर्चना कुमालले बताइन् । उनका अनुसार आफू र नगरपालिकाका कर्मचारी भएर सोधपुछका लागि जाँदा नवदुर्गा सामुदायिक वनका अध्यक्ष धर्मनाथ महतोले नगरपालिकाका कर्मचारी केवलबहादुर पाल्पालीलाई कुटपिट गर्नुका साथै नवदुर्गा सामुदायिककी पूर्वअध्यक्ष रेनु कुमाललाई समेत तथानाम गाली गरिएको छ ।
पाल्पालीले वन फँडानी गर्नेविरूद्ध आफूले उजुरी गरेको बताए । उनले वन फँडानी गरेको थाहा पाएपछि किन रहेछ भनेर बुझ्न खोज्दा आफूमाथि एक्कासि कुटपिट गरेको बताए । पाल्पालीले आफूलाई सामुदायिक वनका अध्यक्ष धर्मनाथ महतोको निर्देशनमा कुटपिट भएको बताए ।
समितिको निर्णयअनुसार नै आफूहरुले वनमा रहेका साल, बकाइनो, कटहर, आँप, दबदबे, डुम्री, खन्योलगायतका रुखहरु काटेको सामुदायिक वनका अध्यक्ष धर्मनाथ महतोले बताए । नयाँ अतिक्रमण हुन नदिन र पुरानो अतिक्रमण रोक्न खोज्दा आफूहरुमाथि अवरोध भएको उनको दाबी छ ।
सामुदायिक वनका अध्यक्ष महतोले वन अतिक्रमण गरेर लगाइएका फलफूलका रुखहरु काटिएको स्वीकार गरे । उनले भने, ‘भोलि मैले लगाएको हो भनेर विवाद नगरुन् भनी समितिकै निर्णयअनुसार ती रुखहरु काटिएको हो । भोलि हामी आफैँ अर्को रुख लगाउने छौँ ।’
डिभिजन वन कार्यालय कावासोती नवलपुरका वन अधिकृत शिशिर लम्सालले यस विषयमा वन कार्यालयमा जानकारी आएको र फिल्डमा गएर बुझेर मात्र थप कारबाही तथा अनुसन्धान अगाडि बढाइने बताए ।
स्थानीयले भने वन अतिक्रमण रोक्ने र संरक्षणको बहानामा वन फँडानी गरिने कुनै पनि दृष्टिकोणबाट उपयुक्त नभएको भन्दै समितिको यस कार्यको व्यापक विरोध गरेका छन् ।



