दोस्रो नेपाल चरा उत्सव आउँदो सातादेखि हुने

images
  • 123
    SHARES
  • माघ २१, २०८० आइतबार
    दोस्रो नेपाल चरा उत्सव आउँदो सातादेखि हुने
    images

    नवलपरासी ।

    पूर्वी नवलपरासीको कावासोतीमा दोस्रो नेपाल चरा उत्सव हुने भएको छ। आयोजक संस्थाको रुपमा रहेको पोखरा पक्षी समाजले यस्तो जानकारी दिएको हो। चरा महोत्सव माघ २६ गतेदेखि २८ गतेसम्म ३ दिन कावासोती–१३, नवलपुरमा हुनेछ। उत्सवको सहआयोजकका रुपमा कावासोतीको जटायु रेस्टुरेन्ट व्यवस्थापन समिति र बर्ड एजुकेसन सोसाइटी रहेका छन्।

    नेपालमा सन् २०१८ मा पहिलोपटक चरा उत्सव भएको भए पनि त्यसलाई स्तरोन्नति गरी सन् २०१९ मा पहिलोपटक पहिलो नेपाल चरा उत्सव भएको थियो। दोस्रो नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेका अनुसार बर्सेनि उत्सव गर्नुपर्ने भए पनि कोभिडका कारण रोकिएकोमा यसवर्षदेखि पुनः सुरू गर्न लागिएको हो।

    उत्सवको ४ हजार ५ सय स्थानीय र विद्यार्थीहरुले अवलोकन गर्ने र पक्षी तथा जैविक विविधताको क्षेत्रमा काम गर्ने ३९ वटा संघसंस्थाका प्रतिनिधि, भारत, भुटान, श्रीलङ्का, मलेसिया, हङ्कङ, सिंगापुर, फिलिपिन्स, जापान, स्वीजरल्यान्ड, अमेरिका, आयरल्यान्ड, बेलायत, ताइवानलगायतका देशहरुबाट टुर अपरेटरलगायतको सहभागिता रहने आयोजकले जनाएको छ।

    उत्सवले चरा र बासस्थानको संरक्षण र जनचेतनाका साथसाथै सरोकारवालाहरुको पर्यटन व्यवसायमा टेवा पुग्ने आयाजकले विश्वास लिएको सहआयोजक बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष टीकाराम गिरीले बताए।

    उत्सवमा पक्षी पहिचान तालिम, ट्रेल प्याकेज, फोटो प्रदर्शनी, पक्षी कला प्रतियोगिता, पेपर प्रस्तुति, फोटो प्रस्तुति, पक्षी अवलोकन, गिद्धका गतिविधि अवलोकन, जंगल सफारी, लोकसांस्कृतिक प्रस्तुति, पक्षी संगोष्ठी, प्यानल छलफल, विविध स्टल प्रदर्शनी, संरक्षण अवार्ड वितरण, अनुसन्धान अवार्ड वितरण, निःशुल्क स्वास्थ्य शिविरलगायतका गतिविधिहरु रहने सहआयोजक संस्था जटायु रेस्टुरेन्टका व्यवस्थापक धनबहादुर चौधरीले बताए।

    नेपालमा ८ सय ९४ प्रजातिका पक्षीहरु पाइन्छन् भने नवलपुरका नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्जआसपास ५ सय ६५ प्रजातिका चराहरु पाइने गरेको पक्षी संरक्षणको क्षेत्रमा काम गर्दै आएका धनबहादुर चौधरीले बताए। उनका अनुसार नेपालमा विश्वमै दुर्लभ मानिएका ४२ प्रजातिका चराहरु पाइने गरेकोमा नारायणी नदी र चितवन राष्ट्रिय निकुञ्जआसपास विश्वमै दुर्लभ मानिएका ३१ प्रजातिका चराहरु पाइने गर्दछ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend