२२ माघ, सुर्खेत
मुगुमा आगलागी हुँदा एउटै घरका दाजुु-बहिनीको मृत्युु भएको छ । जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति १ बजे आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।
‘आज बिहान ६ बजेतिर आगलागी भएको र दुई बालबालिका फेला नपरेको भन्ने खबर आएपछि जिल्लाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो’, डीएसपी थापाले अनलाइनखबरसँग भने, ‘पछि प्रहरीले दुईवटा जलेका शरीर भेटेको थियो ।’
लालुकी श्रीमतीले ताप्नका लागि बालेको आगो राति निभाउन भुल्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ । ‘आमाले राति अबेरसम्म आगो तापेर बस्नुभएको रहेछ । राति पुरै आगो निभेको रहेनछ । त्यही आगो सल्केर आगलागी भएको देखिन्छ,’ डीएसपी थापाले भने ।
आगलागीमा छोराछोरीको मृत्यु भएको तर आमा भने भागेर बाँच्न सफल भएको थापाले बताए ।
उनको गोठभित्र रहेका चौपाया पनि आगलागीमा परी मरेका छन् । खाना पकाउने भान्सा कोठाबाट आगलागी सुरू भएको र आगलागीबाट घरमा धनसम्पत्ति, पशु चौपाय र खाद्यान्न पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।
घटनाको मुचुल्का गर्ने काम भइरहेको र क्षतिको यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ ।



