काठमाडौँ —
आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रको छनोट खेलअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट भएको छ ।

मलेसियाको यूकेएम ओभलमा शनिबार टस जितेर ब्याटिङ गरेको नेपाली टिम ८ ओभर १ बलमा न्यून स्कोरमा समेटिएको हो
नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै उच्च स्कोर बन्न पुग्यो । नेपालका ६ जना ब्याट्सवुमेन शून्यमै आउट भए । यूएईकी माहिका गौरले ४ ओभरमा २ रन मात्र खर्चंदै ५ विकेट लिइन् । त्यस्तै इन्धुजा नन्दाकुमारले ३ विकेट लिइन् ।
खेलमा यूएईले ७ बलमै नेपाललाई १० विकेटले पराजित गरेको छ ।
ट्वान्टी-२० मा सबैभन्दा न्यून स्कोरमा अलआउट हुने रेकर्ड भने मालदिभ्सको नाममा रहेको छ । सन् २०१९ मा नेपालको पोखरामै भएको दक्षिण एसियाली खेलकुद(साग)अन्तर्गत बंगलादेशविरुद्धको खेलमा मालदिभ्स ६ रनमा अलआउट भएको थियो । नेपाली महिला टिमको भने यसअघिको न्यून स्कोर ५० रन थियो । सागअन्तर्गत नै पोखरामा भएको बंगलादेशविरुद्धको खेलमा नेपाली टिम ५० रनमा समेटिएको थियो ।
शुक्रबार नेपालले कतारलाई ७९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । छनोटमा आयोजक मलेसियासहित नेपाल, यूएई, थाइल्यान्ड, भुटान र कतार रहेका छन् । शीर्ष टोलीले दक्षिण अफ्रिकामा हुने प्रतियोगिताका लागि स्थान बनाउनेछ ।



