बगेर जाने पानीको सदुपयोग गर्दै लोथरका चेपाङ

images
  • 143
    SHARES
  • माघ २५, २०८० बिहीबार
    बगेर जाने पानीको सदुपयोग गर्दै लोथरका चेपाङ
    images

    लोथर

    तुलमान गुरूङ

    २०६९ सालमा धनजीत चेपाङको ढाडमा समस्या आयो । शल्यक्रिया गरेर उनले उपचार सफल बनाए । तर, लोथरको भीरपाखामा खनीखोस्री गरेर जीविका चलाउँदै आएका उनको मेरूदण्ड नै कमजोर भएपछि उनले विकल्प खोजे । र, पोल्पिमको काखमा रहेको लोथर खोलामा सोही वर्ष घट्ट थापे ।

    आफू बिरामी हुँदा ठूलो खर्च भए पनि दैनिकी चलाउनुपर्ने बाध्यता भएपछि जसोतसो एक लाख रूपैयाँ जोहो गरेर घट्ट चलाउन कस्सिए । राप्ती नगरपालिकाको वडा नं–१३, पोल्पिमका धनजीतले अहिले यही घट्ट चलाएर सात जनाको परिवार पालेका छन् । घट्ट घुमाएको ज्यालास्वरुप उनी पैसा लिँदैनन्, जे पिस्न ल्यायो त्यहीबाट निकाल्छन् । दुई पाथी अन्न पिस्दा ज्याला एक माना आउँछ ।

    यसैगरी उनको परिवार चलेको छ । स्यामराङ, पोल्पिम, तापाङलगायतका बस्तीबाट अन्न पिस्न आउँछन् । ‘ढाडको समस्या भएपछि घट्ट चलाउँदै आएको छु’, उनी भन्छन्, ‘अहिले यसैको भरमा हामी पालिएका छौँ ।’ खोलामा खेर गइरहेको पानीलाई सदुपयोग गर्दा आफूलाई रोजीरोटी पनि हुने र गाउँलेलाई सेवा पनि मिल्ने हुँदा उनी यो कामबाट सन्तुष्ट छन् ।

    नजिकैको दूरीमा पानीघट्ट भएपछि गाउँलेलाई धेरै सहज भएको स्थानीय मनमाया प्रजा बताउँछिन् । ‘बिहानै उठेर जाँतो घुमाउनुपर्ने बाध्यता छैन’, मकै पिस्न आएकी उनी भन्छिन्, ‘घट्ट भएपछि आफूलाई फुर्सद मिल्दा अन्न ल्याएर छोडिदिए हुन्छ ।’ घट्ट चलेदेखि महिलाहरुलाई ढिकीजाँतो गर्नुपर्ने समय बचत भएको मनमाया बताउँछिन् ।

    इच्छाकामना गाउँपालिका वडा नं–२, वल्र्याङका शेरबहादुर प्रजा पनि विगत २४ वर्षदेखि घट्ट चालक हुन् । खोलाकिनारमा घट्ट चलाउँदा गाउँलेलाई सुविधा हुनुका साथै आफूलाई पनि खर्चपानी चलेको उनी बताउँछन् । ‘पहिले पहिले सबैको घरमा जाँतो हुन्थ्यो । अहिले धेरैको घरमा हराइसकेको छ’, उनी भन्छन्, ‘गाउँले सबैको अन्न यही घट्टले पिसेको छ ।’

    घट्ट चल्न थालेपछि बिहानीको समयमा यहाँका स्थानीय तरकारी खेतीसहितको कृषिकर्ममा सक्रिय हुन थालेको उनी बताउँछन् । ‘घट्टमा ल्याएर अन्न छोडिदिएपछि घन्टौँ लगाएर जाँतो तानिरहन परेन’, उनी भन्छन्, ‘जाँतो तान्ने समयमा खेतीपातीमा सक्रिय हुन थालेका छन् ।’ दुम्किम, वल्र्याङ, हपनी, माझखर्कलगायतका गाउँबाट अन्न पिस्न यहाँ आउने गर्छन् । हपनी पछिल्लो समय तरकारी तथा फलफूलखेतीबाट आत्मनिर्भर बन्ने प्रयासमा रहेको चेपाङ गाउँ हो ।

    तर, पछिल्लो समय घट्टको प्रयोग भने कम हुँदै आएको उनी बताउँछन् । ‘पहिलेजस्तो धेरै मकै आउँदैन । अहिले घरमा बस्ने मानिसको सङ्ख्या पनि घट्दै गएको छ । दुःखै पाए पनि चामल नै खाने प्रवृत्तिको विकास पनि हुँदै आएको छ’, उनी भन्छन्, ‘त्यसकारण पहिले पहिले दिनमै पाँच मुरीसम्म अन्न पिसेको घट्टमा अहिले एक मुरीसम्म आउँछ ।’ घट्टमा पिसेको अन्न राम्रो र चाँडो नबिग्रने हुँदा पुरानो पुस्ताले ढुङ्गाको जाँतोले फुटाएको अन्नको खाना मन पराउने उनको भनाइ छ ।

    कालिका नगरपालिका वडा नं–१० सिद्धि, दमियोडाँडाका नरबहादुर प्रजाले पनि पाइमाराङ खोलामा घट्ट चलाउन थालेको करिब चार वर्ष भयो । उनको परिवार पनि यही घट्ट चलाएर आउने ज्यालास्वरुपको अन्नबाटै चलिरहेको छ । घट्टलाई दिनभर चलाउने हो भने एकदिनमा २५ पाथीको हाराहारीमा अन्न पिस्न सक्ने उनी बताउँछन् ।

    खोरिया बारीमा खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका नरबहादुरले गाउँमा अन्न पिस्नका लागि घट्ट सञ्चालनमा ल्याएपछि गाउँलेलाई समेत सहज भएको छ । ठाउँ–ठाउँमा पानीघट्ट भएपछि गाउँघरमा महिलाहरुलाई थप सहज भएको राप्ती–१३, पोल्पिमकी मनमाया चेपाङ बताउँछिन् ।

    चेपाङ समुदायमा घट्ट चलाउनेहरुले ज्यालास्वरुप अन्न नै लिने गर्दछन् । ठाउँअनुसार कतै दुई पाथी पिसेको एक माना त कतै एक पाथी पिसेकै ज्याला एक माना लिने गरेका छन् । अन्न पिसेको ज्याला पनि अन्न नै लिएपछि घट्ट चालकलाई पनि सजिलो हुने र सेवाग्राहीसँग पैसा नहुने चिन्ता पनि नरहने घट्ट चालकहरु बताउँछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend