काठमाडौँ
कान्तिपुर हाफ म्याराथनको दसौं संस्करणअन्तर्गत पुरुषतर्फको २१.१ किमिको हाफ म्याराथनमा सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की प्रथम भएका छन् ।

पार्कीले १ घण्टा ७ मिनेट ४१ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए । पार्कीले पछिल्लो संस्करणका विजेता अनिश थापामगरको रेकर्ड तोडेका छन् । पछिल्लो पटक अनिशले १ घन्टा ०८ मिनेट ०४ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका थिए । पार्की १३औं दक्षिण एसियाली खेलकुद(साग) मा ५ हजार मिटर दौडमा स्वर्ण पदक विजेतासमेत हुन् ।
कान्तिपुर हाफ म्याराथनको २१.१ किमि विधामा महिला र पुरुषका विजेताले १–१ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यो गत संस्करणभन्दा दोब्बर वृद्धि हो । दोस्रो, तेस्रो, चौथो,पाँचौं र छैटौँ हुनेले क्रमश : ५० हजार, ३० हजार, २० हजार,१० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
‘जलवायु परिवर्तन’ नाराका साथ कान्तिपुर हाफ म्याराथनको दसौं संस्करणमा महिला र पुरुष दुवैको २१.१ किमिको हाफ म्याराथन, कर्पोरेट दौड (५ किमि), ह्विलचियर रेस (३ किमि) गरी तीन विधामा प्रतिस्पर्धा भएको हो ।



