सौराहा,माघ २६
चितवनको सौराहामा यही माघ २८ गतेबाट सुरु हुने १८औं सौराहा फुड फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको छ । फेस्टिवलमा खाना, संगित र संस्कृति मार्फत पर्यटकलाई आर्कषित गरिदै छ । सफारी पर्यटनको हिसावले विश्वमा परिचित सौराहालाई परम्परागत खाना र संस्कृतिले पर्यटकलाई लोभ्याउने गरेको छ ।
सौराहामा हात्ती सफारी मार्फत दुर्लभ वन्यजन्तु अबलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु आउछन् । सौराहा मुलुकको तेस्रो पर्यटकीय गन्तव्य हो । विकास हुँदै गएको सौराहाका व्यवसायीहरुले पर्यटक भित्र्याउन यहाँ दुई महत्वपूर्ण कार्यक्रम बार्षिक रुपमा गर्दै आएका छन् । क्षेत्रीय होटल संघ चितवनले हात्ती तथा पर्यटन महोत्सव र रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनले सांस्कृति फुड फेस्टिबल आयोजना गर्दै आएको छ ।
फेस्टिबल अन्तर्गत स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता हुनेछ । दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयोजक रामकुमार गुरौंले जानकारी दिए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् ।



