काठमाडौँ, माघ २७-
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा परिवर्तनका पक्षधर गोलबन्द हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सोनाम ल्होछारका अवसरमा आज टुँडिखेलमा आयोजित तामाङ सांस्कृतिक महोत्सवमा उहाँले पहिचान र अधिकारका पक्षधर वर्ग, जाति र समुदायको सहयोगमा मात्रै सङ्घीयता कार्यान्वयनमा गुणात्मक फड्को मार्न सकिने बताउनुभयो ।
“म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु, पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईंहरूले राम्रोसँग चिन्नूस्, यसको वरिपरि गोलबन्द हुनूस्”, प्रधानमन्त्रीले भन्नुभयो, “फेरि हामी शक्तिशाली हुनेछौँ, आन्दोलनका बाँकी कार्यभार पूरा हुनेछन् ।”
पहिचान र अधिकार स्थापित गर्ने संविधान जारी गर्न दशौँ हजार योद्धाले बलिदान गरेका स्मरण गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “क्रान्तिकारी शक्ति, पार्टी र नेतृत्वलाई बलियो बनाएर मात्र संविधानको प्रगतिशील कार्यान्वयन र थप अधिकारको आधारशिला खडा हुन सक्छ भन्नेमा हामी सबै गम्भीर हुनैपर्छ ।”
प्रधानमन्त्री दाहालले अबको सङ्घीय मन्त्रिपरिषद् पुनःगठनका क्रममा बागमती प्रदेशमा तामाङ समुदायबाट सरकारमा प्रतिनिधित्व गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो । सोनाम ल्होछार मनाउन तामाङ समुदायलाई सरकारका तर्फबाट प्रदान गरिने सहयोगलाई वृद्धि गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
प्रधानमन्त्रीले सोनाम ल्होछारले क्रान्तिकारी नीति र नेतृत्वको वरिपरि गोलबन्द हुँदै थप अधिकार प्राप्तिको दिशामा एकताबद्ध भई अगाडि बढ्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तामाङ समुदायको मुख्य पर्व ल्होछारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभयो ।
नेपाल तामाङ घेदुङ मूल समारोह समितिका अध्यक्ष वीरबहादुर योञ्जनले तामाङ समुदायको इतिहास, उक्त समुदायले राज्यमा पु¥याउँदै आएको योगदानलगायत विषयमा जानकारी गराउनुभएको थियो ।



