वीरेन्द्र आदर्श माविको वार्षिकोत्सव: संस्थापकको सम्मानमा शालिक अनावरण

images
  • 393
    SHARES
  • फाल्गुण २, २०८० बुधबार
    वीरेन्द्र आदर्श माविको वार्षिकोत्सव: संस्थापकको सम्मानमा शालिक अनावरण
    images

     

    वीरेन्द्रनगर 

    चितवनको राप्ती नगरपालिका वडा नं.७ मा रहेको वीरेन्द्र आदर्श माध्यमिक विद्यालयमा विद्यालय स्थापना गर्ने संस्थापकको शालिक अनावरण गरिएको छ । विद्यालयको २८औँ वार्षिकोत्सवको अवसर पारेर संस्थापक प्रेमबहादुर रानामगरको शालिक अनावरण गरिएको हो ।

    ६ फिट ३ इञ्च अग्लो, २५० केजी तौल रहेको पञ्चधातुद्वारा निर्मित पूर्ण कदको शालिक राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनामार्फत अनावरण गरिएको हो । श्रीमती पदमकुमारी रानामगर र छोराछोरीहरुमार्फत स्व. प्रेमबहादुरको शालिक निर्माण गरिएको हो । पदमकुमारीका अनुसार शालिक निर्माणमा करिब २० लाख रुपैयाँ लगानी लागेको छ ।

    २०५३ साल पुस २७ गते देहावसान भएपछि नै विद्यालयमा शालिक निर्माण गर्ने योजना बनाए पनि आर्थिक अभावका कारण निर्माण गर्न नसकिएको उनले बताइन् । ‘जग्गाजमिन धेरै भए पनि पैसा हुन्थेन । त्यसैले श्रीमान्को शालिक निर्माण गर्ने योजना बनाए पनि काम गर्न सकेको थिइनँ,’ ९ छोरीकी आमा पदमकुमारी भन्छिन्, ‘पेन्सनले छोरीहरुको विवाह गर्दागर्दा पनि शालिक बनाउन सकेको थिइनँ । आज बल्ल यो दिन आयो ।’ प्रेमबहादुरको जेठी श्रीमतीतर्फ दुई छोरा र एक छोरी तथा कान्छी श्रीमतीतर्फ आठ जना छोरी छन् ।

    बुबाको शालिक निर्माण भएपछि बल्ल बुबाले गरेको योगदान पछिल्लो पुस्ताले पनि देख्न थालेको छोरी रूकु रानामगरले बताइन् । ‘बुबा २०५३ सालमै बित्नु भयो । तर, विद्यालयको स्थापना र त्यसपछि गर्नुभएको कामको विषयमा नयाँ पुस्तालाई जानकारी दिलाउनै सकेका थिएनौँ,’ उनी भन्छिन्, ‘अबदेखि विद्यालय प्रवेश गर्ने जोकसैले थाह पाउने भयो । परिवारको लागि यो राम्रो कुरा हो ।’

    बुबा प्रेमबहादुरले २०२३ सालमा विद्यालय स्थापना गर्नको लागि करिब २७ विगाह जमिन दान दिएका थिए । राप्ती नगरपालिका वडा नं.७ प्रेमपुरी समाजमा बस्दै आएका उनले ब्रिटिस सैनिकबाट अवकाश पाएपछि वीरेन्द्रनगरमा बस्ती बसालेका थिए । तनहुँ ऋषिङ स्थायी घर भई २०२० सालमा चितवन झरेका उनले बस्ती बसाल्नको लागि राष्ट्रिय निकुञ्ज बन्न सक्ने विषयलाई पनि ध्यानमा राखेर बस्ती बसालेका थिए । त्यसपछि गाउँको नाम नहुँदा उनैको योजनामा वीरेन्द्रनगरमा अहिले पनि छ वटा समूहमा विभाजन गरी गाउँको नाम नै वान ग्रुपदेखि सिक्स ग्रुप भनेर राखेका थिए ।

    उक्त शालिक अनावरण गर्नुपूर्व वीरेन्द्रनगरका विभिन्न गाउँबाट विभिन्न जातिको भेषभूषामा झाँकीसहितको शोभायात्रा निकालिएको थियो । स्थापनाकालमा प्राप्त २७ विगाह जमिनमध्ये हाल विद्यालयको नाममा करिब १८ विगाह जमिन छ । विद्यालयका पूर्वप्रधानाध्यापक केशवबहादुर श्रेष्ठका अनुसार विद्यालयले भौतिक संरचना निर्माणसहित विद्यालय सञ्चालनको लागि केही जग्गा बिक्री गरेको थियो ।

    राप्ती नगरपालिका वडा नं.७ मा रहेको विद्यालयमा हाल ९०० बढी विद्यार्थी छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुमार्फत विज्ञान प्रदर्शनी गरिएको थियो । साथै कलाकारहरुमार्फत नाचगानसहितको सांस्कृतिक कार्यक्रम गरेर वार्षिकोत्सव सम्पन्न गरेको हो । 

    तस्बिर स्रोत ः पूर्णबहादुर आलेमगर (विशाल)

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend