इलाम, फागुन ४-
सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पु¥याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो । “छारीको न्वारनमात्र सकिएको थियो । जन्मदर्ता वडामै बनाएर आज पुर्याउन आउनुभएछ । वडा कार्यालय टाढा छ, पुगेर आउने हैरान नै घट्यो ।” बेबिकाले भन्नुभयो, “यहाँ कति जनालाई त जन्मदर्ता ३५ दिनभित्र बनाई सक्नुपर्छ भन्ने पनि थाहा छैन । वडाले आफैँ बनाई दिएर घरमै ल्याइदिन थालेछ खुसी लाग्यो ।” सोही ठाउँका एल्बिन शङ्खरको जन्मदर्ता जन्मिएको १६ दिनमा बिहीबार वडाले ल्याइदिएको उहाँकी आमा वर्षाले बताउनुभयो ।
शत्प्रतिशतको जन्मदर्ता गराउने लक्ष्य लिएको वडाले त्यहाँका तीनवटा खोप केन्द्रमा पनि अनुगमन गरेको थियो । खोप केन्द्रमा खोप हान्दै गरेका नानीहरुको जन्मदर्ता भए–नभएको चेकजाँच गर्दा कतिपयलाई जन्मदर्ता गर्ने समयावधि, कागजी र कानुनी प्रक्रिया नै थाहा नभएको पाइएको बम्जनले बताउनुभयो । “खोप केन्द्रमा पत्ता लागेकाहरुको पनि काम गरियो । त्यो गर्दा पनि समस्या समाधान नभएकाले अब अन्तिम विकल्पका रुपमा यो अभियान सुरु गरेका छौँ,” उहाँले भन्नुभयो ।
एकातिर प्रक्रिया र सूचना थाहा नपाउँदा समस्या हुने गरेको छभने अर्कातिर आवश्यकता भएपछि मात्र चासो दिने समस्या छ । “कसैले बालबालिकालाई स्कुल पु¥याउने बेलामा मात्र थाहा पाएर गर्छन् त कसैले कुनै कामका लागि ‘डकुमेन्ट्स’ चाहिँदा मात्र गर्छन्,” वडा सचिव सञ्जय ढुङ्गेलले भन्नुभयो, “विशेषगरी चेतनास्तर नै कम भएर हो, जनप्रतिनिधिहरुको फुर्सद नहुँदा हामी आफैँ गएर दिन्छौँ तर राम्रो कामको सुरुआत गरिहालौँ भनेर थालिएको हो ।”
यसअघि जन्मदर्ता गर्न छुटेकाहरुको क्रमशः खोज्दै र अब जन्मनेहरुका लागि ३५ दिनभित्रमा घरमै उपलब्ध गराउने गरिएको अभियानलाई वडाबासीले धन्यवाद दिएका छन् । स्थानीय प्रदीप गिरीले भन्नुभयो, “जनताप्रति सचेत र जवाफदेही वडाध्यक्ष पाएका छौँ । नगर कार्यपालिकाकै कान्छो उमेरका हाम्रा अध्यक्ष ऊर्जावान्, सृजनशील र रचनात्मक चेत भएको व्यक्ति हुनुहुन्छ ।” देख्दा सामान्य भए पनि यो कार्य उदाहरणीय भएको स्थानीयबासी बताउँछन् । रासस



