६ फागुन, काठमाडौं
शिक्षामन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस गरेको छ । समितिले चित्रबहादुर बुढाथोकी, टंकनाथ धमला र केशरजंग बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको समिति स्रोतले जनाएको छ ।
विज्ञहरु प्रा.डा.चन्द्रबहादुर श्रेष्ठ, प्रा.डा. सुरेशराज शर्मा समितिका सदस्यहरु शिक्षा सचिव सुरेश अधिकारी र वौद्ध अध्ययन विभाग प्रमुख चन्द्रकला घिमिरेले २९ माघ , १ र २ फागुनमा सर्टलिस्टमा परेकाहरुको अन्तर्वार्ता, व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र सोचपत्रको मूल्यांकन गरेका थिए ।
त्रिविको उपकुलपति पदका लागि कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी र चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्र प्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलवासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्र प्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सुर्यबहादुर थापा सर्टलिस्टमा परेका थिए ।
कात्तिक १६ गते तत्कालीन उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि तत्कालीन रेक्टर प्रा.डा.शिवलाल भुसालले ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाएका थिए । तर त्यस अवधिमा पनि उपकुलपति छनोट नसकिएपछि पुन: ३ महिनाका लागि उपकुलपतिको जिम्मेवारी पाएका छन् ।



