काठमाडौ,फागुन ८
सांगठनिक प्रतिवेदनमा विवाद भएपछि नेपाली कांग्रेसको महासमिति बैठकको कार्यतालिका नै प्रभावित भएको छ। ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सोमबार दिउँसो सुरु भएको महासमिति बैठक उद्घाटन सत्रपछि रोकिएको छ। बैठक आज बिहान ९ बजे सुरु हुने कांग्रेसले जनाएको छ।
चुनावी गठबन्धन गर्न नहुने महामन्त्री गगन थापाको सांगठनिक प्रतिवदेनमा असहमति जनाउँदै सभापति शेरबहादुर देउवाले बन्दसत्रको तालिका सारेर पदाधिकारीसँग छलफल गरेका हुन्। बैठकको उद्घाटन गर्दै सभापति शेरबहादुर देउवाले चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय परिस्थितिमा भरपर्ने बताएका थिए। अहिलेको गठबन्धनको औचित्यबारे टिप्पणी गर्ने बेला नभएको देउवाको दाबी छ। उनले शासकीय स्वरुपबाहेक अरु विषयमा संविधान संशोधनका लागि छलफल गर्न सकिने पनि बताए।
१० गतेसम्म चल्ने बैठकमा करिब २२ सय प्रतिनिधि सहभागी छन्। बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रतिवेदन पेस गर्ने तालिका छ।
त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक र केन्द्रीय सदस्य श्याम घिमिरेले लेखा समितिको प्रतिवेदन पेस गर्नेछन्। प्रतिवेदनमाथि विभिन्न समूहमा रहेर पार्टीका प्रस्तावहरुमाथि छलफल सुरु हुनेछ।



