भरतपुर
पञ्चशील महाबौद्ध गुम्बामा जारी कङ्ग्युर (त्रिपिटक) पाठ वाचन एवम् धर्म प्रवचन कार्यक्रममा सोमबार वाङ (अभिषेक) ग्रहण गरिएको छ । एक साता लामो पाठ वाचनमा सबैभन्दा मह¤वपूर्ण मानिएको दिनमा अवतारी टुल्कु रिम्पोछे थब्वाङ तेञ्जिङ गुरूङमार्फत वाङ ग्रहण गरिएको हो । सोही अवसरमा ८४ र ६१ वर्ष पुगेका बुबाआमाका लागि विशेष पूजा गरिएको पाठ वाचन मूल समारोह समितिका संयोजक एवम् गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सन्तलाल गुरूङले जानकारी दिए ।
उनका अनुसार सोमबारमात्रै करिब एक हजार एक सय जना भक्तजन सहभागी भएका थिए । भरतपुर महानगरपालिका वडा नं–९, शरदपुरमा रहेको गुम्बामा अवतारी टुल्कु रिम्पोछे आउने भएपछि सोमबार बिहानैदेखि भक्तजनहरुको भीड लागेको थियो । धर्मगुरूमार्फत अभिषेक ग्रहणसँगै पूजापाठ सम्पन्न गरेको कार्यक्रम संयोजक गुरूङले जानकारी दिए । फागुन ५ गतेदेखि सुरू भएको पाठ वाचनमा हरेक दिन धर्म प्रवचन एवं पाठ वाचन हुँदै आएको छ ।
गुम्बाका प्रमुख वाचक एवं धर्मगुरू डा. (खेन्पो रिम्पोछे) दशरथ गुरूङका अनुसार २६०० वर्ष पहिले भगवान् गौतमबुद्धले प्रतिपादन गरेको शिक्षा र ज्ञानको पुस्तकलाई नै कङ्ग्युरको रुपमा ग्रहण गरिँदै आएको छ । सोही शिक्षामार्फत शान्ति स्थापना गराउने उद्देश्यका साथ ठाउँ–ठाउँमा त्रिपिटक पाठ वाचन गर्ने गरेको उनले बताए । ज्योतिष पात्रअनुसार उज्यालो समयमा पाठ वाचन कार्यक्रम राखिएको हुँदा अन्य समयको भन्दा यो समयमा पुण्य कमाउने मौका मिलेको उनले बताए ।
‘त्यसकारण बुद्धधर्मप्रति आस्था राख्ने जोकसैले यस्तो सुनौलो अवसर गुमाउन हुँदैन’, उनले भने । कङ्ग्युर पाठ वाचन गर्दा विश्वजगत्लाई शान्तिभूमिको रुपमा स्थापित गराउनमा सहयोग पुग्ने उनले बताए । ‘विश्वमा भइरहेको हिंसा, अपराध, द्वेष भावजस्ता नकारात्मक विषयलाई छलेर सकारात्मक सन्देश फैलाउन यस्ता कार्यक्रमले मह¤वपूर्ण भूमिका खेल्छ’, उनले भने ।
कार्यक्रम अवधिभर विभिन्न धर्मगुरूहरुद्वारा नियमित पाठ वाचन गरिने छ । गुम्बाका प्रमुख वाचक एवम् पूजा प्रमुख डा. दशरथ गुरूङसहित खेन्पो रिम्पोछे (डा.) हरु रनबहादुर गुरूङ, शीर लामा गुरूङ, सन्तोष गुरूङ, रक्षबहादुर गुरूङलगायतका धर्मगुरूहरुबाट नियमित पाठ वाचन हुनेछ । आयोजकका अनुसार हरेक दिन बिहान ७ देखि साँझ ६ बजेसम्म पूजापाठ हुने छ भने दिउँसो २ देखि ३ बजेसम्म नियमित हुनेछ ।
फागुन १२ गते दताहरुलाई सम्मानसँगै वाङ (अभिषेक) एवं प्रसाद ग्रहण गर्दै समापन गरिने कार्यक्रम संयोजक गुरूङले जानकारी दिए । विसं २०६३ सालमा स्थापना भएको गुम्बाले हरेक तीन÷तीन वर्षमा कङ्ग्युर पाठ वाचन गर्दै आएको छ ।



