काठमाडौँ, फागुन १४-
राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पुर्याएको क्षतिपछिको पुनः निर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको वैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले जाजरकोट, दैलेख, सल्यान, डोटी र बझाङलगायतका जिल्लामा भूकम्पले पुर्याएको क्षतिपछिको पुनः निर्माणलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कांग्रेसका सांसद रमेशजङ्ग रायमाझीले जनताबाट निर्वाचित सांसदहरुले निर्वाचनका समयमा जनतासमक्ष गरेका बाचाहरु पूरा गर्नुपर्नेमा जोड दिनुभयो । मिटरब्याजपीडितको समस्या समाधान गर्नुपर्ने, जतिसक्दो चाँडो सङ्घीय कानून बनाउनुपर्ने र कुनै राजनीतिक दल वा दलका नेतामा केन्द्रित गर्नेभन्दा पनि आगामी आर्थिक बर्षको बजेट जनताको पक्षमा बनाउनुपर्ने माग गर्नुभयो ।
सांसद सिंहबहादुर विश्वकर्माले दलित समुदायबारे संविधानमा व्यवस्था गरिएको अधिकार कार्यान्वयनका लागि कानून निर्माण हुनुपर्नेमा जोड दिनुभयो । सांसदहरु नारायणप्रसाद दाहाल, इन्दु कडरिया, शेखरकुमार सिंह, नरपति लुहार र दीपा गुरुङले भ्रष्टाचारको अन्त्यलगायत समसामयिक विषयमा सरकारको ध्यानाकषर्ण गराउनुभयो । रासस



