भ्रमण वर्ष उद्घाटन अघि भरतपुरको मुख्य सडकलाई धुलोरहित बनाइने

images
  • 159
    SHARES
  • फाल्गुण १४, २०८० सोमबार
    भ्रमण वर्ष उद्घाटन अघि भरतपुरको मुख्य सडकलाई धुलोरहित बनाइने
    images

    पुजा ढकाल

    चितवन, फागुन १४

    भरतपुरको पुल्चोक–गोन्द्राङ सडकमा पहिलो तहको कालोपत्रेको काम भ्रमण वर्षको उद्घाटन अगाडि नै सक्नेगरी तीव्र गतिमा काम भइरहेको छ । फागुन १८ गते नारायणी किनारमा हुने भ्रमण वर्षको कार्यक्रमलाई लक्षित गरेर कामलाई तीव्र बनाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हो ।

    ‘घुमौं भरतपुर’ भन्ने मूल नाराका साथ सुरु गरिने भ्रमण वर्ष उद्घाटनको दिनसम्म भरतपुरको मूल सडक धुलो रहित बनाउने गरी काम गरेको निर्माण कम्पनीले दाबी गरेको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एक तहको सडक निमार्णको काम फागुन १७ गते सम्म सक्ने निर्माण कम्पनीको प्रतिबद्धता जनाएपछि भ्रमण वर्षको उद्घाटन फागुन १८ मा गर्ने तय भएको बताए ।

    अधिकारीले पुस १६ गते (जनावरी–१) मा उद्घाटन गर्ने भनिएको भ्रमण वर्ष सडक निमार्ण सम्पन्न नहुँदा र बजार क्षेत्र धुलाम्य हुँदा फागुनमा सारिएको जानकारी दिए । उनले भने, ‘उद्घाटनको दिनसम्म एक तहको कालोपत्रे सम्पन्न गर्ने गरी निर्माण कम्पनीले दिन रात गरेर काम गरेको छ । तर, उक्त दिनसम्म कालोपत्रेको काम नसकिने हो कि भन्ने लागेकोले हामी पानी हालेर धुलो मार्ने व्यवस्था गछौँ ।’

    भरतपुरस्थित पुलचोक–गोन्द्राङ छ लेन सडक निर्माणको ८० प्रतिशत काम सकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर शाहका अनुसार अहिले चौबिसकोठी क्षेत्रमा ढलानको काम सम्पन्न भएको छ भने पुलचोकदेखि वीरेन्द्र क्याम्पस गेटसम्म पहिलो तहको कालोपत्रेको काम हुँदै छ । उनले भ्रमण वर्षको उद्घाटनको मिति नजिकिएसँगै निर्माण कम्पनीले तीव्र गतिमा काम गरेकोले यो हप्ता सम्म पहिलो तहको सबै काम सकिने र धुलो रहित भरतपुर बन्ने बताए । उनले भने, ‘बेसको काम गर्न समय लाग्ने भएकोले केही ढिलाइ भएको हो । तर, कालोपत्रे गर्न समय नलाग्ने भएकोले यो हप्ताको सेरोफेरोमा पहिलो तहको कालोपत्रेको काम सकिन्छ र भरतपुर धुलोरहित सडक बन्छ ।’ त्यस्तै उनले बजेट बिनियोजनको लागि फाइल अर्थमन्त्रालयमा पुगेको र चाडै बजेट आए निर्माण कम्पनीले यही गतिमा काम गर्ने र भदौ सम्ममा सडकको निमार्णको सबै काम सकिने बताए ।

    निर्माण कम्पनीले २०७७ माघ २८ भित्र सडक बिस्तार गरिसक्ने भन्दै कामको जिम्मा लिएको थियो । सो मितिमा पनि काम नसकिएपछि दुई पटकसम्म म्याद थप गरिएको हो । अन्तिमपटक भदौसम्म सक्नेगरी म्याद थप गरिएको छ । भरतपुर र नारायणगढ क्षेत्रमा पर्ने यो सडकमा सहरी सौन्दर्यलाई समेत ख्याल गरी छ दशमलब आठ किलोमिटर लामो सडक बिस्तारको काम थालिएको हो । सडकको लागत एक अर्ब ७६ करोड छ । भौतिक प्रगति ८० प्रतिशत भए पनि बित्तीय प्रगति ७० प्रतिशतमात्र भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend