नवलपुर ।
पूर्वी नवलपरासीका दुग्ध किसानहरु आन्दोलित भएका छन् । उनीहरुले बिहीबार कावासोतीमा दूध पोखेर पूर्वपश्चिम राजमार्गमा १ घन्टा चक्काजाम गरे । दूधको भुक्तानी माग गर्दै यहाँका किसानले महेन्द्र राजमार्गको कावासोतीको फलफूल चोकमा राजमार्ग अवरूद्ध गरेका हुन् ।
पूर्वी नवलपरासी सदरमुकाम कावासोतीमा राजमार्गमा दूध पोखेर किसानले सरकारविरूद्ध आक्रोश जनाएका थिए ।
बिहीबार बिहान कावासोतीस्थित जिल्ला प्रहरी कार्यालयअगाडि प्रदर्शन गर्दै किसानले महेन्द्र राजमार्ग अवरूद्ध गरेका हुन् । दूधको भुक्तानी नपाएको र सरकार मूकदर्शक भएर बसेको भन्दै उनीहरुले सरकारको विरोधमा नाराबाजीसमेत गरेका छन् ।
निकम्मा कृषिमन्त्री राजीनामा दे, किसानमारा सरकार मुर्दावाद, दूधको आयात बन्द गरजस्ता प्ले कार्ड बोेकेका किसानहरुले सडकमा नाराबाजी गरेका छन् । उनीहरुले मिल्क होलिडे बन्द हुनुपर्ने र किसानको उत्पादन, दूधको मूल्य र बिक्रीको जिम्मा सरकारले लिनुपर्ने माग गरेका छन् ।
महेन्द्र राजमार्गको कावासोतीमा दूध पोखेर नाराबाजी गरेका कारण महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका दर्जनौँ गाडी कावासोतीमा रोकिएका थिए ।
पूर्वी नवलपरासीमा दैनिक करिब ७० हजार लिटर दूध बिक्री हुँदै आएको छ । दुग्ध उत्पादक किसानले स्थानीय सहकारीमार्फत बिक्री गरेको दूधको भुक्तानी नपाएका कारण आन्दोलन गर्न परेको जनाएका छन् । सहकारीले काठमाडौँका दूध डेरीलाई दिएको दूधको भुक्तानी नपाएका कारण किसान मारमा परेका हुन् ।
दुग्ध किसानले गरे राजमार्ग अवरूद्ध
त्यस्तै चितवनका दुग्ध उत्पादक किसानहरुले पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेका छन् । दूधको भुक्तानी र मिल्क होलिडे अन्त्यको माग गर्दै आन्दोलनरत किसानहरुले बिहीबार दुई घन्टा राजमार्ग अवरूद्ध गरेका हुन् ।
लामो समयदेखि दूधको भुक्तानी रोकिँदा पनि सरकारले वास्ता नगरेपछि किसानहरु सडकमा आएका र उनीहरुले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत बिहान १० बजेदेखि १२ बजेसम्म राजमार्ग अवरूद्ध गरेका हुन् । रत्ननगरको बेल्सीचोकमा किसानहरुले राजमार्ग अवरूद्ध गरेका थिए । चितवन जिल्ला दुग्ध उत्पादक संघको नेतृत्वमा गरिएको राजमार्ग अवरोधका क्रममा किसानहरुले कृषिमन्त्रीको राजीनामासहित सरकारविरूद्ध नाराबाजीसमेत गरेका थिए ।
संघका अध्यक्ष किशोर बगालेले मिल्क होलिडेका कारण र दूधको भुक्तानीसमेत रोकिँदा पशुपालन व्यवसाय गरिरहेका किसानहरु मर्कामा परेको बताए । मिल्क होलिडेको अन्त्य र भुक्तानीका लागि पटकपटक प्रयास गर्दा पनि सरकारले नसुनेको उनको भनाइ छ । केही दिनअघि भरतपुरमा समेत दूध पोखेर किसानहरुले गरेका थिए



