रुससँगको युद्ध तेस्रो वर्षमा प्रवेश गरेसँगै शान्तिका लागि युक्रेनले चीनको खोजी गरेको छ । रुसको सबैभन्दा शक्तिशाली सहयोगी चीनलाई युक्रेनले शान्तिका लागि पहल गर्न फेरि आग्रह गरेको हो ।
युक्रेनी र चिनियाँ अधिकारीबीच यसै साता स्विट्जरल्याण्डको डाभोसमा कुराकानी भएको समाचार सिएनएनले प्रकाशित गरेको छ । त्यस वार्तामा युक्रेनका तर्फबाट राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र उनका विदेशमन्त्री दिमित्रो कुल्लेबा सहभागी थिए भने चीनबाट विदेशमन्त्रालयका प्रतिनिधि सहभागी रहेको सिएनएनले उल्लेख गरेको छ ।
वार्तापछि सञ्चारकर्मीसँग जेलेनेस्कीले दिएको प्रतिक्रिया उद्दृत गर्दै सिएनएनले लेखेको छ, ‘युक्रेनको शान्ति योजनामा चीनको संलग्न हुन चाहान्छ ।’
यता, यसै साता विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन पुगेका चिनियाँ प्रधानमन्त्री ली छ्याङले जेलेनेस्कीसँग कुनै भेट गरेनन् । यस्तै २५ मिनेटको सम्बोधनमा उनले विश्व युद्ध परिवेशबारे कुनै पनि धारणा राखेनन् । उनले चीनको अर्थतन्त्र सम्हालिने स्थितिमा रहेको भन्दै सबैलाइ आश्वस्त बनाइरहे ।
गत वर्ष चिनियाँ राष्ट्रपति सि चिनफिङले युक्रेनी समकक्षी जेलेनेस्कीसँग भेट गरेर शान्तिका लागि पहल गर्ने बताएका थिए ।
विश्लेषक यु सुनले सिएनएनसँग भनेका छन्, ‘रुस युक्रेनको युद्ध अन्त्य गर्दै शान्ति स्थापना गर्ने सवालमा आफूले निकै काम गरेको चीनको मान्यता छ । तर शान्तिको चिनियाँ संस्करणमा चित्त बुझाउने पक्षमा जेलेनेस्की छैनन् ।’
गत वर्ष चीनले शान्तिका लागि पहल गर्ने भन्दै आफ्नै तरिकाको प्रस्ताव अघि सारेको थियो । युक्रेनी भुभागमा रहेका रुसी सेना फिर्ता विनै युद्धविरामको प्रस्ताव आएपछि युक्रेनले त्यसलाई स्वीकार गरेको थिएन ।
डाभोसको वार्तापछि चीनले अघि सार्ने प्रस्तावमा सबैको नजर रहेको विश्लेषकहरु बताउँछन् । ‘रुसले धेरै क्षति भोग्न नपरोस् भनेर चीनले पहिले शान्तिका लागि मध्यस्थता गर्न चाहेको थियो । तर अहिले चीनलाई त्यतापट्टि कम चासो छ । अहिले शान्ति वार्ताको जग कसरी बसाउने भन्नेतर्फ चीनको ध्यान छ । अहिले अमेरिकाले सम्पूर्ण शक्ति गाजातर्फ केन्द्रित गरेकाले स्थिति रुसको पक्षमा पुगेको छ । पश्चिमा र युक्रेनको वकालतझैं चीनले निष्पक्ष शान्तिलाई अघि बढाउनुपर्ने कारण पनि निकै न्युन छ,’ उनले सिएनएनसँग भनेकी छिन् ।
युक्रेनले युद्ध अन्त्यका लागि पहल गरोस् भन्ने चाहाना राखिरहँदा चीनले मध्यपूर्वको युद्धमा बढी चासो राखेको अवस्था छ । कायरोमा पुगेर चिनियाँ विदेश मन्त्री वाङ यीले अरबलिगसँग संयुक्त वक्तव्य जारी गरे । जसमा भनिएको छ, ‘तत्कालै त्यहाँ युद्ध विराम गरेर वृहत शान्ति सम्झौता हुनैपर्छ ।’
विश्व शान्तिका लागि चीनले वृहत शान्ति सम्मेलन गर्दै इजरायल र प्यालेस्टाइन दुई छुट्टै राज्यको अवधारणा कार्यान्वयनका निम्ति समयसीमा तोक्न प्रभावकारी कदम चालिने वाङ्ले बताएका छन् ।
चीनले प्यालेस्टाइनलाई छुट्टै राज्य बनाउने अडान अझै कसरी दरिलो बनाउनेछ भन्नेबारे केही बताएको छैन । यद्यपि सन् १९८० देखिनै उसले प्यालेस्टाइनलाई सार्वभौम र ज्य मानिरहेको छ र लामो समयदेखि उसले दुई राज्यको अवधारणाको विकालत गरिरहेको छ।
मध्यपूर्वको यो युद्ध चीनको लागि वैकल्पिक अन्तर्राष्ट्रिय नेता बन्ने मौका रहेकाले बेइजिङले गाजा युद्धमा बढी अडान राखिरहेको विश्लेषण भइरहेको छ ।
विश्लेषक एलेक्स जहेबले सिएनएनसँग भनेका छन्, ‘अमेरिकी नीतिले विश्वको स्थायित्वमा असर पुगिरहेको मत हाबी भइरहेको समयमा गाजा युद्धले विश्वमा अमेरिकाप्रति अर्को आक्रोश जन्माइरहेको छ । यस्तो अवस्थामा कूटनीतिक बलमार्फत नतिजा निकाल्नका निम्ति बेइजिङले अडानसँगसँगै पहल पनि गरिरहेको छ।’
गाजाको युद्धमा पश्चिमा शक्ति पनि विभिक्त रहेकाले चीनले त्यसलाई गतिलो मौकाका रुपमा लिएको एलेक्स बताउँछन् । ‘ग्लोबल साउथ राष्ट्रहरुले इजरायलको दमन र ज्यादतीको कडा विरोध गरिरहेका छन् । यस्तो अवस्थामा ग्लोबल साउथ राष्ट्रहरुप्रति सद्धभाव राख्दै शान्तिको मध्यस्थता गरेर चीनले लाभ लिन खोजेको छ,’ उनले भने ।
शान्ति सम्मेलन
निकटै भविष्यमै शान्ति सम्मेलनको आयोजना हुन लागेको स्विट्जरल्याण्डले जनाएको छ । जेलेनस्कीको आग्रहमा हुन लागेको यस सम्मेलनको मिति तोकिएको छैन ।
ग्लोबल साउथ राष्ट्रहरुसँगै बसेर युक्रेनबारे सम्मेलनमा चीनले राख्ने प्रस्तावलेनै उसको प्राथामिकताको परीक्षण हुनेछ । यस सम्मेलनबारे जेलेनेस्कीले भनेका छन्, ‘युक्रेनको भौगोलिक अखण्डताको सम्मान गर्ने सबै मुलुकलाई त्यहाँ स्वागत गरिनेछ ।’
यस सम्मेलनमा आमन्त्रण भए नभएको र भएको अवस्थामा चीनले राख्ने प्रस्तावबारे सिएनएनले विदेशमन्त्री वाङसँग चासो राखेको थियो । सिएनएनको चासोलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘वार्ता र संवाद मार्फत शान्तिको प्रवर्द्धन गर्ने हाम्रो अडान कायमै छ । शान्तिका लागि हामी जुनसुकै हदको पहलमार्फत मध्यस्थता गर्नेछौं ।’
विश्लेषकहरुका अनुसार त्यस सम्मेलनमा युक्रेनको विचारधारा अनुसार मात्रै छलफल हुने देखिन्छ । अहिलेसम्को चारवटा छलफलमा रुसलाई कही स्थान दिइएको छ ।
तीनवटा सम्मेलनमा सहभागी नभएको चीन साउदी अरबको आयोजनामा भएको छलफलमा भए सामेल भएको थियो ।
पश्चिमाविरुद्ध जुद्धनका निम्ति बेइजिङले मस्कोको साथलाई अपरिहार्य मानेको छ । त्यसैले युद्धमा पश्चिमा प्रतिबन्धले रुस अप्ठ्यारोमा नपरोस् भन्नका निम्ति उसले सहयोग जारी राखेको छ । ‘रुसले स्वीकार गर्न नसक्ने प्रस्तावमा चीनले सहमति जनाउँदैन,’ सुनले भनिन् ।
किएभ र मस्कोबीचको मिलन विन्दु नपहिल्याउँदासम्म बेइजिङ यस्ता सम्मेलनको साक्षी मात्रै हुन चाहेको छ । त्यहाँ हुने छलफल र बहसबाट उसले पृथक प्रस्ताव तयार गर्ने सोचेको छ ।
गाजामा शान्ति कायमका सवालमा पनि उसले मध्यस्थतकर्ता हुन चाहेको सुनको बुझाइछ । दुवैतिरको शान्तिका लागि प्रस्ताव तयार गर्न लागिपरेको चीनको ध्यान तत्कालका लागि गाजामै केन्द्रित रहेको सुनले सिएनएनसँग बताएकी छिन् ।



